धर्मशास्त्रहरू
ओम्नी १


ओम्नीको पुस्तक

अध्याय १

ओम्नी, अमरोन, कमिश, अबिनादोम र अमलेकी, प्रत्येकले आफ्नो पालामा अभिलेख राख्दछन्—मोसीयाहले जरहेम्ला फेला पार्दछन्, जो सिदकियाहका दिनहरूमा यरुशलेम छाडेर आएका थिए—मोसीयाहलाई उनीहरूका राजा बनाइन्छ—मुलेकका सन्ततिले येरेदीहरूका अन्तिम कोरियान्तुम्रलाई जरहेम्लामा फेला पार्छन्—मोसीयाह पछि बेन्यामिन राजा हुन्छन्—मानिसले आफ्नो आत्मालाई ख्रीष्टमा अर्पण गर्नुपर्दछ। लगभग ई.पू. ३२३–१३०।

हेर, यस्तो हुन गयो कि म ओम्नी, मेरा पिता यारोमबाट आज्ञा दिइएकाले, कि मैले यी पाताहरूमा हाम्रो वंशावलीको संरक्षण गर्न केही लेख्नुपर्दछ।

यसकारण, मेरा दिनहरूमा, म तिमीहरूलाई थाहा भएको चाहन्छु कि मैले तरबार लिएर मेरा मानिस, नफीहरूलाई उनीहरूका शत्रु, लमानीहरूका हातमा पर्नबाट संरक्षण गर्न धेरै लडेँ। तर हेर, म आफैँ एक दुष्ट मान्छे हुँ, अनि मैले परमप्रभुका कानुनहरू र आज्ञाहरू पालना गरेको छैन जसरी मैले गर्नु पर्ने हो।

अनि यस्तो हुन गयो कि दुई सय छयत्तर वर्ष बिते, अनि हामीसँग धेरै शान्तिका समयहरू थिए; अनि हामीसँग युद्ध र रक्तपातका धेरै समयहरू थिए। हो, निष्कर्षमा, दुई सय बयासी वर्ष बिते, अनि मेरा पितापुर्खाहरुका आज्ञाअनुसार मैले यी पाताहरू राखेँ; अनि मैले मेरा पुत्र अमरोनलाई ती प्रदान गरेँ। अनि म अन्त्य गर्दछु।

अनि अब म अमरोन जे लेख्दछु ती मेरा पिताको पुस्तकमा लेख्दछु, जुन थोरै छन्।

हेर, यस्तो हुन गयो कि तीन सय बीस वर्ष बिते, अनि नफीहरूका बढी दुष्ट भागहरूको विनाश गरियो।

किनकि परमप्रभुले सहनु हुनेछैन, उहाँले तिनीहरूलाई यरुशलेमको भूमिदेखि अगुवा गरेर ल्याउनुभएको हुनाले र उनीहरूका शत्रुहरूका हातबाट बचाउनु भएकाले र संरक्षण गर्नु भएकाले, हो, उहाँले सहनुहुनेछैन कि उहाँले यसो भन्दै हाम्रा पितापुर्खाहरुसामु बोलेका यी वचनहरूको पुष्टि नहोस्: जबसम्म तिमीहरूले मेरा आज्ञाहरू पालना गर्दैनौ तबसम्म यो भूमिमा तिमीहरूको उन्नति हुनेछैन।

यसकारण, परमप्रभुले महान् न्यायमा उनीहरूलाई भेट्नुभयो; तैपनि धर्मीहरूलाई उहाँले जोगाउनुभयो कि उनीहरूको नाश नहोस्, तर उनीहरूका शत्रुहरूका हातहरूबाट उनीहरूलाई पार लगाउनुभयो।

अनि यस्तो हुन गयो कि मैले यी पाताहरू मेरा बन्धु कमिशसामु हस्तान्तरण गरेँ।

अब, म कमिश, मेरा दाजुले लेखेको एउटै पुस्तकमा जे लेख्दछु, थोरै लेख्दछु; किनकि हेर, उनले लेखेको अन्तिम लेख मैले देखेँ, कि उनले यो आफ्नै हातले लेखे; अनि उनले त्यो ती मेरासामु हस्तान्तरण गरेको दिनमा लेखेका हुन्। अनि यसप्रकारले हामीले ती अभिलेखलाई राखेका हौँ, किनकि यो हाम्रा पितापुर्खाहरुका आज्ञाअनुसार हो। अनि म अन्त्य गर्दछु।

१० हेर, म अबिनादोम कमिशको पुत्र हुँ। हेर यस्तो हुन गयो कि मैले, मेरा मानिसहरू, नफीहरू र लमानीहरू बीच धेरै युद्ध देखेँ; अनि मैले मेरै आफ्नै तरबारद्वारा मेरा बन्धुहरूका सुरक्षामा धेरै लमानीहरूका जीवन लिएँ।

११ अनि हेर, यी मानिसहरूका अभिलेख, युगअनुसार, राजाहरूसँग भएका पाताहरूमा कुँदिएका छन्; अनि लेखिएको बाहेक मलाई कुनै प्रकाश, न त अगमवाणी नै थाहा छ; यसकारण, कि जे लेखिएको छ त्यो पर्याप्त छ। अनि म अन्त्य गर्दछु।

१२ हेर, म अमलेकी अबिनादोमको पुत्र हुँ। हेर, म मोसीयाहको बारेमा केही तिमीहरूलाई भन्छु, जसलाई जरहेम्लाको भूमिमाथि राजा बनाइएका थिए; किनकि हेर, उनी परमप्रभुले सचेत गराएकाले कि उनी नफीको भूमिबाट भाग्नुपर्छ, अनि ज-जसले परमप्रभुको आवाजलाई सुने ती पनि भूमिबाट उनीसँगै उजाड स्थानतिर प्रस्थान गर्नुपर्दछ।

१३ अनि यस्तो हुन गयो कि उनले परमेश्वरले उनलाई दिएको आज्ञाअनुसार गरे। अनि जतिले परमप्रभुको आवाजलाई सुने तिनीहरू भूमिबाट उजाड स्थानतिर प्रस्थान गरे; अनि तिनीहरूलाई धेरै प्रवचनहरू र अगमवाणीहरूले अगुवा गरिएको थियो। अनि परमेश्वरका वचनद्वारा तिनीहरूलाई चेतावनी दिइएको थियो; अनि तिनीहरूलाई उहाँको पाखुराको शक्तिद्वारा अगुवा गरिएको थियो, उजाड-स्थान हुँदै जरहेम्लाको भूमि भनिने भूमिमा नआइन्जेल सम्म।

१४ अनि उनीहरूले जरहेम्लाका जन भनिने मानिसहरूको पत्ता लगाए। अब, जरहेम्लाका जनमाझ महान् अनान्द थियो; अनि जरहेम्ला पनि अत्यन्त खुसी भए, किनकि परमप्रभुले मोसीयाहका जनलाई यहूदीका अभिलेख भएका काँसका पाताहरूसँगै पठाउनु भएको थियो।

१५ हेर, यस्तो हुन गयो कि मोसीयाहले थाह पाए कि जरहेम्लाका मानिसहरू बेबिलोनतिर बन्दी बनाएर लागिएका यहुदाका राजा सिदकियाहको समयमा यरुशलेमबाट आएका थिए।

१६ अनि तिनीहरूले उजाड स्थानमा यात्रा गरे, अनि उनीहरूलाई मोसीयाहले फेलापारेको स्थानसम्म परमप्रभुको हातद्वारा अथाह पानी पार गरेर ल्याइएको थियो; र उनीहरू त्यस समयदेखि त्यहीँ बसोबास गरेका थिए।

१७ अनि मोसीयाहले तिनीहरूलाई पत्ता लगाएको समयमा, उनीहरू अत्यन्त धेरै सङ्ख्यामा थिए। तैपनि, तिनीहरूमाझ धेरै युद्ध र गम्भीर कलह भएका थिए र समय समयमा तरबारले मारिएका थिए; अनि उनीहरूका भाषा भ्रष्ट बनेको थियो; अनि उनीहरूले आफूसँग कुनै अभिलेखहरू ल्याएका थिएनन्; अनि उनीहरूले आफ्ना सृष्टिकर्ताको अस्तित्वलाई अस्वीकार गरे; अनि मोसीयाह, न त मोसीयाहका जनले उनीहरूलाई बुझ्न सक्थे।

१८ तर यस्तो हुन गयो कि मोसीयाहले अह्र्याए कि तिनीहरूलाई उनको भाषा सिकाउनु पर्दछ। अनि यस्तो हुन गयो कि मोसीयाहको भाषा उनीहरूलाई सिकाएपछि, जरहेम्लाले उनको सम्झनाअनुसार उनका पितापुर्खाहरुका वंशावली दिए; अनि ती लेखिएका छन्, तर यी पाताहरूमा होइन।

१९ अनि यस्तो हुन गयो कि जरहेम्लाका, अनि मोसीयाहका मानिसहरू एकसाथ एकीकृत भए; अनि मोसीयाहलाई उनीहरूका राजा हुन नियुक्त गरियो।

२० अनि यस्तो हुन गयो कि मोसीयाहका दिनहरूमा, उनीसामु त्यहाँ कुँदिएको एउटा ठुलो चट्टान ल्याइयो; अनि उनले परमेश्वरको उपहार र शक्तिद्वारा त्यस कुँदाइको भाषान्तरण गरे।

२१ अनि तिनीहरूले एक कोरियान्तुम्र, अनि उनीहरूका मारिएका मानिसहरूको विवरण दिए। अनि जरहेम्लाका मानिसहरूद्वारा कोरियान्तुम्रलाई पत्ता लगाइयो; अनि उनी तिनीहरूसँग नौ महिनाका अन्तरालसम्म बास गरे।

२२ यसले उनका पितापुर्खाहरुका बारेमा पनि केही वचनहरू बोल्यो। अनि उनका प्रथम मातापिता परमप्रभुले मानिसहरूका भाषा खलबल्याउनु भएको समयमा धरहराबाट आएका थिए; अनि परमप्रभुको कठोरता उहाँको न्यायअनुसार उनीहरूमा पऱ्यो, जुन न्यायिक थियो; अनि उनीहरूका हड्डीहरू उत्तरतर्फको भूमिमा छरिएर रहेकाछन्।

२३ हेर, म, अमलेकी, मोसीयाहका दिनहरूमा जन्मेको थिएँ; अनि म उनको मृत्युको समयमा जीवित थिएँ; अनि उनको पुत्र बेन्यामिनले उनको सट्टामा राज्य गरे।

२४ अनि हेर, मैले, बेन्यामिन राजाका दिनहरूमा, नफीहरू र लमानीहरूबीच गम्भीर युद्ध र धेरै रक्तपात देखेको छु। तर हेर, नफीहरूले उनीहरूमाथि धेरै फाइदा पाए; हो, यतिसम्म कि बेन्यामिन राजाले तिनीहरूलाई जरहेम्लाको भूमिबाट लखेटे।

२५ अनि यस्तो हुन गयो कि म बूढो हुन थालेँ; अनि मेरो सन्तान नभएकोले, अनि बेन्यामिन राजा परमप्रभुअगाडि न्यायोचित मानिस भएकाले, यसकारण, सबै मानिसहरूलाई परमेश्वर, इस्राएलका पवित्र उहाँमा आउन, अनि अगमवाणीमा, अनि प्रकाशहरूमा, अनि स्वर्गदूतहरूका सेवामा, अनि भाषाहरू बोल्ने उपहारमा, अनि भाषाहरूका भाषान्तरण गर्ने उपहारमा, अनि सम्पूर्ण असल कुराहरूमा विश्वास गर्न प्रोत्साहित गर्दै, मैले यी पाताहरू उनीलाई हस्तान्तरण गर्नेछु; किनकि जे असल छन् ती परमप्रभुबाट मात्र आउँछन्; अनि खराब सबै सैतानबाट आउँछन्।

२६ अनि अब, मेरा प्रिय बन्धुहरू, म चाहन्छु कि तिमीहरू ख्रीष्टसामु आऊ, जो इस्राएलका पवित्र उहाँ हुनुहुन्छ, अनि उहाँको मुक्तिको, अनि उहाँको उद्दारको शक्तिको भाग लेऊ। हो, उहाँमा आऊ, अनि तिम्रो पूरा आत्मा उहाँसामु अर्पण गर, अनि उपवासमा र प्रार्थनामा जारी राख, अनि अन्त्यसम्म सहन सक; अनि जसरी परमप्रभु जीवित हुनुहुन्छ, त्यसरी तिमीलाई बचाइनेछ।

२७ अनि अब म नफीको भूमितिर फर्कन भनेर उजाड स्थानतिर लागेका निश्चित सङ्ख्याको बारेमा केही बोल्न चाहन्छु; किनकि त्यहाँ एउटा ठूलो सङ्ख्या थियो जो उनीहरूका रिक्थको भूमिको स्वामित्व लिन इच्छुक थिए।

२८ यसकारण, तिनीहरू उजाड स्थानतिर लागे। अनि उनीहरूका अगुवा बलियो र शक्तिशाली मानिस र अटेरी मानिस भएकोले, यसकारण उसले उनीहरूमाझ कलह गरायो; अनि उजाड स्थानमा पचास बाहेक सबैको बध गरियो, अनि उनीहरू जरहेम्लाको भूमितिर पुन: फर्किए।

२९ अनि यस्तो हुन गयो कि तिनीहरूले एक यथेष्ट सङ्ख्यामा अरु पनि लिएर गए र फेरि उजाड-स्थानतिरको आफ्नो यात्रामा लागे।

३० अनि म, अमलेकीको एउटा भाइ थियो, ऊ पनि उनीहरूसँग गयो; अनि मैले त्यस समयदेखि उनीहरूका बारेमा केही थाह पाएको छैन। अनि म मेरो समाधिस्थानतिर जान लागेँ; अनि यी पाताहरू भरिएका छन्। अनि म मेरो बोलाइको अन्त्य गर्दछु।