धर्मशास्त्रहरू
परिचय


परिचय

मोर्मोनको पुस्तक बाइबलसँग तुलनीय पवित्र धर्मशास्त्रको एक खण्ड हो। यो अमेरिकाहरूका प्राचीन बासिन्दाहरूसँगको परमेश्वरको व्यवहारको एक अभिलेख हो र यसमा चीरस्थायी सुसमाचारको पूर्णता छ।

यो पुस्तक प्राचीनकालका धेरै अगमवक्ताहरूद्वारा अगमवाणी र प्रकाशको आत्माद्वारा लेखियो। सुनका पाताहरूमा लेखिएका उनीहरूका वचनहरू मोर्मोन नाउँ गरेका अगमवक्ता-इतिहासकारद्वारा उद्धृत र संक्षेपीकरण गरियो। यो अभिलेखले दुई महान् सभ्यताहरूको विवरण दिन्छ। एउटा ई.पू. ६०० मा यरुशलेमबाट आए र त्यसपछि नफीहरू र लमानीहरू भनेर चिनिइने दुई राष्ट्रहरूमा विभाजित भए। अर्को धेरै अगाडि आए जब परमप्रभुले बेबिलोनको धरहरामा भाषाहरू खलबल पार्नुभयो। यो समूहलाई येरेदीहरू भनेर चिनिन्छ। हजारौँ वर्षपछि लमानीहरू बाहेक सबैको विनाश भयो र उनीहरू नै अमेरिकी आदिवासीहरूका पुर्खाहरूमध्ये हुन्।

मोर्मोनको पुस्तकमा उल्लेख गरिएको सबभन्दा महत्वपूर्ण घटना आफ्नो पुनरुत्थान लगत्तै पछि परमप्रभु येशू ख्रीष्टले नफीहरूमाझ गरेको व्यक्तिगत सेवा हो। यसले सुसमाचारका सिद्धान्तहरूलाई अगाडि राख्छ, मुक्तिको योजनाको रेखाचित्र दिन्छ र मानिसहरूलाई उनीहरूले यस जीवनमा शान्ति र आगामी जीवनमा अनन्त जीवन प्राप्त गर्न के गर्नु पर्दछ भनी भन्दछ।

मोर्मोनले आफ्ना लेखाइहरू पूरा गरेपछि, उनले त्यो विवरण आफ्ना छोरा मोरोनीलाई हस्तान्तरण गरे, जसले उनका आफ्ना केही वचनहरू थपे र पाताहरू कुमोराह पर्वतमा लुकाए। १८२३ को सेप्टेम्बर २१ मा, तब एक महिमित, पुनरुत्थान भएका व्यक्ति, उही मोरोनी, योसेफ स्मिथअगाडि देखा परे र उनलाई त्यो प्राचीन अभिलेख र यसको पूर्वनिर्देषित अंग्रेजी भाषाको अनुवादका बारेमा निर्देशन दिए।

उचित समयमा ती पाताहरू योसेफ स्मिथलाई हस्तान्तरण गरियो, जसले ती परमेश्वरको उपहार र शक्तिद्वारा रुपान्तरण गरे। त्यो अभिलेख अहिले धेरै भाषाहरूमा एक नयाँ र थप गवाहीका रुपमा प्रकाशित छ कि येशू ख्रीष्ट जीवित परमेश्वरका पुत्र हुनुहुन्छ र जो उहाँसामु आउँछन् र उहाँका सुसमाचारका व्यवस्थाहरू र विधिहरू पालना गर्दछन् ती सबैलाई बचाउन सकिन्छ।

यो अभिलेखका बारेमा योसेफ स्मिथले भने: “मैले बन्धुहरूलाई भनेँ कि मोर्मोनको पुस्तक पृथ्वीको कुनैपनि अन्य पुस्तक भन्दा सही र हाम्रो धर्मको मुल आधार थियो र अरु कुनै पुस्तकका शिक्षाहरूको पालना भन्दा यसका शिक्षाहरूको पालनाद्वारा मानिस परमेश्वरसामु अझ नजिक पुग्छ”।

योसेफ स्मिथ बाहेक, परमप्रभुले ती सुनका पाताहरू उनीहरूले देख्न र मोर्मोनको पुस्तकको सत्यता र ईश्वरियताको विशेष साक्षी हुन अरु एघार जन उपलब्ध गराउनुभयो। उनीहरूका गवाहीहरू यसमा “तीन साक्षीहरूको गवाही” र “आठ साक्षीहरूको गवाही” का रुपमा समावेश गरिएको छ।

हामी संसारका सबै मानिसहरूलाई मोर्मोनको पुस्तक पढ्न, यसमा समेटिएका सन्देशहरूलाई उनीहरूका हृदयहरूमा चिन्तन गर्न र त्यसपछि अनन्त पिता, परमेश्वरसामु ख्रीष्टका नाउँमा यदि यो पुस्तक सत्य छ कि छैन भनी सोध्न निम्त्याउँछौँ। जसले त्यसो गर्छ र आस्थाका साथ सोध्छ उनीहरूले यसको सत्यता र ईश्वरियताको पवित्र आत्माद्वारा गवाही प्राप्त गर्नेछन्। (हेर्नुहोस् मोरोनी १०:३–५)

जसले पवित्र आत्माद्वारा यो ईश्वरीय गवाही प्राप्त गर्दछ ऊ सोही शक्तिद्वारा यो ज्ञानमा पनि आउँछ कि येशू ख्रीष्ट संसारका मुक्तिदाता हुनुहुन्छ, कि योसेफ स्मिथ यी अन्तिम दिनहरूमा उहाँको प्रकाशक र अगमवक्ता हुन् र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च मसीहको दोस्रो आगमनको तयारीका निम्ति पृथ्वीमा फेरि एकपटक स्थापित गरिएको परमेश्वरको अधिराज्य हो।