धर्मशास्त्रहरू
३ नफी १४


अध्याय १४

येशूले आज्ञा दिनुहुन्छ: मूल्याङ्कन नगर; परमेश्वरसँग अनुरोध गर; झुटा अगमवक्ताहरू देखि होसियार हुनू—उहाँले तिनीहरूसँग मुक्तिको वाचा गर्नुहुन्छ जसले पिताको इच्छा पूरा गर्छन्—मत्ती ७ सँग तुलना गर्नुहोस्। लगभग ई.सं. ३४।

अनि अब यस्तो हुन गयो जब येशूले यी कुराहरू बोल्नुभएको थियो उहाँ फेरि भीडतिर फर्कनुभयो र उनीहरूसामु आफ्नो मुख फेरि खोल्नुभयो, यसो भन्दै: साँचै नै, साँचै नै, म तिमीहरूसामु बोल्दछु, मूल्याङ्कन नगर, ताकि तिमीहरूको मूल्याङ्कन नगरियोस्।

किनकि तिमी जुन न्यायले मुल्याङ्कन गर्छौ, तिमीहरूलाई त्यसैले मुल्याङ्कन गरिनेछ; र जुन मापदण्डले तिमीहरूले नाप्दछौ, त्यसैले तिमीहरूलाई फेरि नापिनेछ।

अनि तिमी किन आफ्नो भाइको आँखाको कसिङ्गरलाई देख्दछौ, तर आफ्नो आँखामा भएको मुढालाई किन देख्दैनौ?

अथवा तिमीले कसरी तिम्रो भाइलाई भन्दछौ: मलाई तिम्रो आँखाको कसिङ्गर निकाल्न देऊ—अनि हेर, तिम्रो आँखामा एउटा मुढो छ?

तिमी ढोँगी, पहिला आफ्नो आँखाको मूढालाई फ्याँक; र तब तिमीले तिम्रो भाइको आँखाबाट कसिङ्गर हटाउन सफासँग देख्नेछौ।

जे पवित्र छ त्यो कुकुरलाई नदेऊ, न त तिम्रो मोति सुँगुरका आगाडि फ्याँक, कथंकदाचित तिनीहरूले तिनलाई आफ्ना पाउमुनि किचिमिची गरेर, फर्की तिमीमाथि नै हमला गर्लान्।

माग, अनि यो तिमीलाई दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढक्ढक्याऊ, अनि यो तिम्रा निम्ति खोलिनेछ।

किनकि जसले माग्दछ, उसले प्राप्त गर्दछ; र जसले खोज्दछ, उसले भेट्टाउँछ; र जसले ढक्ढक्याउँछ, उसका निम्ति यो खोलिनेछ।

अथवा तिमीहरूमध्ये कुनै मानिस छ, जसले, यदि उसको छोराले रोटी मागे, उसलाई ढुङ्गा दिन्छ?

१० अथवा यदि उसले एउटा माछा मागे, के उसले उसलाई सर्प दिन्छ?

११ यदि तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल उपहार कसरी दिने भनी जान्दछौ भने, स्वर्गमा रहनुहुने तिम्रा पिताले उहाँसँग अनुरोध गर्नेहरूलाई असल कुराहरू कति बढी दिनुहुनेछ?

१२ त्यसकारण, सबै कुराहरू जुन तिमीहरूले चाहन्छौ कि मानिसहरूले तिमीलाई गरून्, तिमीहरूले पनि उनीहरूलाई त्यसै गर्नू, किनकि यो नै व्यवस्था र अगमवाणीको सारांश हो।

१३ तिमीहरू साँघुरो ढोकाबाट प्रवेश गर; किनकि जुन ढोका फराकिलो छ र बाटो सजिलो छ, जसले विनाशतिर अगुवाइ गर्छ र त्यहाँ जाने धेरै छन्;

१४ किनभने ढोका साँघुरो छ र बाटो कठिन छ, जसले जीवनतिर अगुवाइ गर्छ र त्यसलाई पत्तालगाउने थोरै छन्।

१५ झुटा अगमवक्ताहरूदेखि होसियार हुनू, जो भेडाको भेषमा तिमीहरूसामु आउँछन्, तर भित्र उनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।

१६ तिमीहरूले उनीहरूलाई उनीहरूका फलहरूद्वारा चिन्नेछौ। के मानिसहरूले काँडाको बोटबाट अङ्गुर, अथवा सिउँडीबाट अन्जीर जम्मा गर्छन् र?

१७ त्यस्तै गरी प्रत्येक असल वृक्षले असल फल ल्याउँदछ; तर भ्रष्ट वृक्षले खराब फल ल्याउँदछ।

१८ एक असल वृक्षले खराब फल ल्याउन सक्दैन, न त भ्रष्ट वृक्षले असल फल ल्याउँछ।

१९ असल फल नल्याउने प्रत्येक वृक्षलाई काटेर ढाली आगोमा फ्याँकिन्छ।

२० यसकारण, उनीहरूका फलहरूद्वारा तिमीहरूले उनीहरूलाई चिन्नेछौ।

२१ मलाई परमप्रभु, परमप्रभु भन्ने सबै स्वर्गको अधिराज्यमा प्रवेश गर्नेछैनन्; तर ऊ जसले स्वर्गमा रहनुहुने मेरा पिताको इच्छा पूरा गर्दछ।

२२ त्यस दिनमा धेरैले मलाई भन्नेछन्: परमप्रभु, परमप्रभु, के हामीले हजुरका नाउँमा अगमवाणी गरेका छैनौँ र, अनि हजुरका नाउँमा हामीले दुष्टलाई निकाला गरेका छैनौँ र, अनि हजुरका नाउँमा धेरै आश्चर्यका कार्यहरू गरेका छैनौँ र?

२३ अनि तब म उनीहरूसामु घोषणा गर्नेछु: मैले तिमीहरूलाई कहिल्यै चिनिनँ; मबाट निस्किजाओ, तिमीहरू जसले दुष्टताका कार्य गर्छौ।

२४ त्यसकारण, जसले मेरा यी भनाइहरूलाई सुन्छ र पालना गर्छ, म उसलाई एक विवेकी मानिससँग दाँज्नेछु, जसले आफ्नो घर चट्टानमाथि बनायो—

२५ अनि पानी पऱ्यो र बाढी आयो र हुरी चल्यो र त्यो घरमाथि बजारियो; र त्यो ढलेन, किनकि त्यो चट्टानमाथि बनाइएको थियो।

२६ अनि मेरा यी वचनहरूलाई सुन्ने र तिनको पालना नगर्ने प्रत्येकलाई एउटा मूर्ख मानिससँग दाँजिनेछ, जसले आफ्नो घर बालुवामाथि बनायो—

२७ अनि पानी पऱ्यो र बाढी आयो र हुरी चल्यो र त्यो घरमाथि बजारियो र त्यो ढल्यो र त्यसको पतन भयानक थियो।