साधारण सम्मेलन
सोध्नुहोस्, खोज्नुहोस् र ढकढक्याउनुहोस्
अक्टोवर 2020 साधारण सम्मेलन


सोध्नुहोस्, खोज्नुहोस् र ढकढक्याउनुहोस्

स्वर्गमा रहनुहुने पिताको योजनाको एक महत्त्वपूर्ण अंश भनेको उहाँसँग हामीले चाहेको जुनसुकै बेला पनि कुराकानी गर्ने अवसर हो।

चार महिना अघि, धर्मशास्त्रहरूको मेरो अध्ययनमा, म अम्मोनीहामा अल्माको सुसमाचार प्रचारका बारेमा पढ्दै गर्दा आऊ, मेरो अनुशरण गर मा: यो सुझावमा आइपुगेको थिएँ “जब तपाईंहरूले परमेश्वरले नेफिका जनहरूलाई ठूलो आशिष्‌हरू दिएको बारेमा पढ्नुहुन्छ (हेर्नुहोस् अल्मा ९:१९-२३) उहाँले तपाईंलाई दिनुभएका ठूला आशिषहरूलाई मनन गर्नुहोस्।” मैले परमेश्वरले मलाई दिनुभएको आशीर्वादको सूची बनाउने र यसलाई मेरो म्यानुअलको डिजिटल संस्करणमा अभिलेख गर्ने निर्णय गरें। केही मिनेटमा नै, मैले १६ आशीर्वादहरू सूचीबद्ध गरेको थिएँ।

ती मध्ये मेरा लागि सबैभन्दा महत्वपूर्ण मुक्तिदाताको कृपा र प्रायश्‍चितका महान आशीषहरू थिए। मैले पोर्तुगलमा एउटा युवा सुसमाचार प्रचारक का रुपमा र पछि मेरी प्रिय अनन्त जीवन साथी प्याट्रिसियासंग ब्राजिलको पोर्टो एलेग्री दक्षिण मिसनमा मुक्तिदाताको प्रतिनिधित्व गर्न पाएको आशिषका बारेमा पनि लेखें, जहाँ हामीले ५२२ शक्तिशाली र असल सुसमाचार प्रचारकहरुसंग सेवा गर्यों । प्याट्रिसियाको कुरा गर्दा मैले त्यस दिन अभिलेख गरेका थुप्रै आशीषहरू हामीले विवाहको ४० वर्षमा सँगै पाएका थियौं — साउ पाउलो ब्राजिल मन्दिरमा बाँधिएको, हाम्रा तीन जना सुन्दर केटाकेटीहरू, उनीहरूका जीवनसाथी र १३ नातिनातिनीहरू लगायत।

मेरा विचारहरू मेरा धार्मिक मातापितातिर पनि फर्किए, जसले मलाई सुसमाचारको सिद्धान्तमा हुर्काउनुभयो। मलाई विशेष गरी त्यस क्षणको सम्झना आयो जब मेरी प्यारी आमा म करीब १० वर्षको हुँदा मसँग मेरो ओछ्यानको छेउमा प्रार्थना गर्न घुँडा टेक्नुभयो। उहाँले महसुस गरेको हुनुपर्छ कि यदि मेरा प्रार्थनाहरू स्वर्गमा मेरा पितासम्म पुग्ने हो भने तिनीहरूमा सुधार गरिनुपर्दछ। त्यसैले उहाँले भन्नुभयो, “म पहिले प्रार्थना गर्छु, र मेरो प्रार्थना पछि, तिमी प्रार्थना गर।” जबसम्म स्वर्गमा रहनुहुने पितासँग कसरी कुरा गर्ने भनेर सिद्धान्त र अभ्यास सहित मैले सिकेँ भनेर उहाँलाई विश्वस्त भएन तबसम्म उहाँले धेरै रातसम्म यो तरिकालाई निरन्तरता दिनुभयो । मलाई प्रार्थना गर्न सिकाउनुभएकोमा म सदैव उहाँप्रति आभारी हुनेछु किनभने मैले स्वर्गमा रहनुहुने पिताले मेरा प्रार्थना सुन्नुहुन्छ र तिनीहरूलाई जवाफ दिनुहुन्छ भन्ने सिकें।

वास्तवमा त्यो अर्को आशीष हो जुन मैले आफ्नो सूचीमा समावेश गरें - परमप्रभुको इच्छा सुन्न र सिक्न सक्ने उपहार । स्वर्गमा रहनुहुने पिताको योजनाको एक महत्त्वपूर्ण अंश भनेको उहाँसँग हामीले चाहेको जुनसुकै बेला पनि कुराकानी गर्ने अवसर हो।

परमप्रभुबाट निमन्त्रणा

जब मुक्तिदाता आफ्नो पुनरुत्थान पछि अमेरिका जानुभयो, उहाँले गालीलीमा आफ्ना चेलाहरूलाई दिएको निमन्त्रणा दोहोर्याउनुभयो। उहाँले भन्नुभयो:

माग, अनि यो तिमीलाई दिइनेछ; खोज, अनि तिमीले भेट्टाउनेछौ; ढक्ढक्याऊ, अनि यो तिम्रा निम्ति खोलिनेछ।

“माग्ने हरेकले, प्राप्त गर्दछ; अनि जसले खोज्दछ, भेट्टाउँदछ। र जसले ढकढक्याउँछ, उसका लागि खोलिनेछ ”(३ नफि १४:७-८; पनि हेर्नुहोस्मत्ती ७:७–८

हाम्रो अगमवक्ता, अध्यक्ष रसलम एम्. नेल्सनले हाम्रो समयमा पनि यस्तै निमन्त्रणा दिनुभएको छ। तिनले भने: “येशू ख्रीष्टको नाममा आफ्ना चिन्ता, डर, कमजोरीहरू — हो, तपाईंको हृदयको तृष्णाको विषयमा प्रार्थना गर्नुहोस्। अनि त्यसपछि सुन्नुहोस् ।” तपाईंको मष्तिस्कमा आउने विचारहरू लेख्नुहोस्। तपाईंका अनुभवहरूलाई अभिलेख गर्नुहोस् र कार्यहरू सहित अनुसरण गर्नुहोस् जुन तपाईंलाई लिनका लागि प्रोत्साहन गरिन्छ। जब तपाईं यस प्रक्रियालाई दिनदिनै, महिना पछि महिना, वर्षौं वर्ष दोहोर्याउनुहुन्छ, तपाईं ‘प्रकाशको सिद्धान्तमा अघि बढ्नुहुनेछ।’”

अध्यक्ष रासल एम. नेल्सनले थप्नुभयो, “आउँदा दिनहरुमा, पवित्र आत्माको मार्गदर्शन, निर्देशन, सान्त्वना र निरन्तर प्रभाव बिना आत्मिक रुपमा बाँच्न सम्भव हुनेछैन।”

हाम्रो आध्यात्मिक अस्तित्वका लागि प्रकाश किन अत्यावश्यक छ? किनभने संसार भ्रामक र हल्लाहरु, छल र विकर्षणहरुले भरिएको छ । स्वर्गमा रहनुहुने हाम्रा पितासँगको सञ्चारले हामीलाई सत्य र गलत के हो, के हाम्रा लागि परमप्रभुको योजनासँग सान्दर्भिक छ र के छैन भन्ने बारे बुझ्न सक्षम पार्दछ । संसार कठोर र हृदय विदारक पनि हुन सक्छ। तर जब हामी प्रार्थनामा हृदय खोल्दछौं, हामी स्वर्गमा हुनुहुने हाम्रा पिताबाट आउने सान्त्वना र उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई महत्व दिनुहुन्छ भन्ने महसुस गर्नेछौं।

माग्नुहोस्

परमप्रभुले भन्नुभयो, “हरेक जसले माग्छ, उसले पाउँछ।” माग्नु सरल देखिन्छ, तथापि यो शक्तिशाली छ किनकि यसले हाम्रा चाहनाहरू र हाम्रो आस्थालाई प्रकट गर्दछ। यद्यपि परमप्रभुको आवाज बुझ्न सिक्न समय र धैर्यता चाहिन्छ। हामी हाम्रो मष्तिस्क र हृदयमा आउने विचार र अनुभूतिहरूलाई ध्यान दिन्छौं, अनि हाम्रा अगमवक्ताले हामीलाई सल्लाह दिए जस्तै हामी तिनीहरूलाई लेख्छौं। हामीले प्राप्त गरेको प्रभावलाई अभिलेखित गर्नु प्राप्तिको एक महत्वपूर्ण हिस्सा हो। यसले हामीलाई सम्झन, समीक्षा गर्न र परमप्रभुले हामीलाई के सिकाउँदै हुनुहुन्छ भनेर पून: महसुस् गर्न सहयोग गर्दछ।

केहि समय अगाडी एक प्रियजनले मलाई भने, “म व्यक्तिगत प्रकाश सत्य हो भनेर विश्वास गर्दछु। मलाई विश्वास छ मैले गर्नुपर्ने सबै चीजहरू पवित्र आत्माले मलाई देखाउनेछ। यो विश्वास गर्न सजिलो हुन्छ जब मैले मेरो छाती दृढ़ विश्वासले जलेको महसुस गर्दछु। तर यही स्तरमा पवित्र आत्माले कसरी मसँग सधैं कुरा गर्न सक्नुहुन्छ?”

मेरा प्रियजनलाई र तपाईं सबैलाई, म भन्छु कि म पनि निरन्तर आत्माको ती दृढ प्रभावहरू महसुस् गर्न चाहन्छु र अनुशरण गर्ने मार्ग सँधै स्पष्ट रुपमा देख्न चाहन्छु। तर त्यस्तो हुँदैन । यद्यपि, हामीले प्राय:जसो के महसुस गर्न सक्छौँ भने , परमप्रभुको स्थिर सानो स्वरले हाम्रो मष्तिस्क र हृदयमा कानेखुशी गर्दै भन्नुहुन्छ, “म यहाँ छु। म तिमीलाई माया गर्छु। अगाडि बढ; सक्दो प्रयास गर। म तिमीलाई समर्थन गर्नेछु।” हामीले जहिले पनि सबै कुरा जान्न वा सबै कुरा देख्नुपर्दैन।

स्थिर, सानो आवाज पून: पुष्टि, उत्साहजनक र सान्त्वनादायी छ - र अधिकांश समय हाम्रो दिनका लागि हामीलाई यो मात्र चाहिन्छ। पवित्र आत्मा वास्तविक छ, र उसका - ठूला र साना प्रभावहरू वास्तविक छन् ।

खोज्नुहोस्

परमप्रभुले प्रतिज्ञा गर्नुभयो, “जसले खोजी गर्दछ, उसले भेट्टाउँदछ।” खोजले मानसिक र आध्यात्मिक प्रयास - चिन्तन, परीक्षण, प्रयास, र अध्ययनलाई सङ्केत गर्दछ। हामी खोजी गर्दछौं किनकि हामी परमप्रभुका प्रतिज्ञाहरूमा विश्वास गर्दछौं। “किनकि जो परमेश्वरकहाँ आउँछ उसले विश्वास गर्नुपर्दछ कि उहाँ हुनुहुन्छ, र उहाँलाई लगनशीलताका साथ खोज्नेहरूलाई उहाँ प्रतिफल दिनुहुन्छ” (हिब्रू ११:६)। जब हामी खोजी गर्दछौं, हामी नम्रतापूर्वक स्वीकार गर्दछौं कि हामीले अझ धेरै सिक्नुपर्ने कुरा छ, र परमप्रभुले हाम्रो समझ विस्तार गर्नुहुनेछ, हामीलाई थप प्राप्त गर्न तयार पार्नुहुनेछ। किनकि हेर, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म मानिसका छोराछोरीलाई हरफमाथि हरफ, शिक्षामाथि शिक्षा, यता अलिकति उता अलिकति दिनेछु; जसले स्वीकार गर्दछ उसलाई म अझ बढी दिनेछु। नफि २८:३०

ढकढक्यानुहोस्

अन्तमा परमप्रभुले भन्नुभयो, “जसले ढकढक्याउछ, उसका लागि खोलिनेछ।” ढकढक्याउनु भनेको आस्थामा काम गर्नु हो। जब हामी उहाँलाई सक्रिय रुपमा पछ्याउँछौं, परमप्रभुले हाम्रो अगाडिको बाटो खोलिदिनुहुन्छ। एक सुन्दर भजन छ जसले हामीलाई सिकाउँछ “माथि [हाम्रो] महलको कल्पना गर्नुभन्दा बिउझा र केहि थप गर। राम्रो गर्नु रमाइलो हो, अतुलनीय आनन्द हो, कर्तव्य र प्रेमको वरदान। “ बाह्र प्रेरितहरूको गणका एल्डर जेरिट डबल्यू गोङले हालसालै पढाउँनुभयो कि प्रकाश प्रायश त्यतिबेला आउँछ जब हामी असल काममा हुन्छौँ। उहाँले भन्नुभयो: “हामी वरपरका मानिसहरूलाई सेवा गर्न खोज्ने क्रममा, मलाई लाग्छ कि परमप्रभुले तिनीहरूका लागि भनेर हामीलाई उहाँको प्रेमको थप मात्रा दिनुहुन्छ र त्यसैबाट हामीलाई पनि प्राप्त हुन्छ। मलाई लाग्छ कि हामी उहाँको स्वर सुन्छौं – हामी उहाँलाई अर्कै तरिकाले महसुस गर्छौं – जब हामी आफ्ना वरिपरिका मानिसहरूलाई सहयोग गर्नका लागि प्रार्थना गर्दछौं किनकि प्रार्थनाहरू मध्येको यही एउटा प्रार्थना हो जसको उहाँ अधिक रुपमा जवाफ दिन चाहनुहुन्छ ।”

अल्माको उदाहरण

आऊ, मेरो अनुशरण गर मा मेरा आशीषका बारेमा सोच्न दिएको त्यो सरल सुझावले एक मीठो भावना र केही अप्रत्याशित आध्यात्मिक अन्तर्दृष्टि ल्यायो। अम्मोनिहामा अल्मा र उनको सेवाका बारेमा पढ्दै जाँदा, मैले पत्ता लगाएँ कि अल्माले सोध्ने, खोज्ने र ढकढक्याउने भनेको के हो भन्ने बारेमा राम्रो उदाहरण दिन्छन्। हामीले पढ्छौं कि “अल्माले आत्मामा धेरै मेहनत गरे, परमेश्वरसँग शक्तिशाली प्रार्थनामा सङ्घर्ष गर्दै, कि उहाँले आफ्नो आत्मा जनमाथि खन्याउनुहुनेछ ।” तर उसले आशा गरे अनुरुपको त्यो प्रार्थनाको जवाफ आएन र अल्मालाई शहरबाट बाहिर निकालियो। “दु:खले भरिएर” अल्माले हार मान्नै लागेका थिए, जब एक देवदूतले यो सन्देश पठाए: “अल्मा, तिमी धन्य छौ; यसकारण, आफ्‍नो टाउको उठाएर रमाऊ, किनकि तिमीसँग रमाउने ठूलो कारण छ।” त्यसपछि ती देवदूतले उनलाई अम्मोनीहा फर्केर फेरि कोसिस गर्न भने र अल्मा “तुरुन्तै फर्किए।”

सोध्ने, खोज्ने र ढकढक्याउने सम्बन्धमा हामी अल्माबाट के सिक्छौं? हामी सिक्छौं कि प्रार्थनालाई आध्यात्मिक परिश्रम चाहिन्छ र यसले सँधै हामीले अपेक्षा गरेको नतिजामा लाँदैन। तर जब हामीले हतोत्साही भएको वा निराश भएको महसुस गर्छौं, परमप्रभुले हामीलाई विभिन्न तरिकाहरूबाट सान्त्वना दिनुहुन्छ र मजबूत बनाउनुहुन्छ। उहाँले हाम्रा सबै प्रश्नहरूको उत्तर नदिनुहोला वा हाम्रा सबै समस्याहरू अहिले नै समाधान नगरिदिनुहोला; बरु, उहाँले हामीलाई प्रयत्न गरिरहन प्रोत्साहन गर्नुहुन्छ। यदि हामीले छिट्टै हाम्रो योजनालाई उहाँको योजनाका साथ पङ्तिवद्ध गर्‍यौं भने, उहाँले अल्माका लागि जस्तै हाम्रा लागि पनि बाटो खोलिदिनुहुनेछ।

यो मेरो गवाही हो कि यो सुसमाचारको पूर्णताको समयावधि हो। हामी हाम्रो जीवनमा येशू ख्रीष्टको प्रायश्चितको आशिषको आनन्द लिन सक्छौं। हामीसँग धर्मशास्त्रहरू व्यापक रूपमा उपलब्ध छन्। हामी अगमवक्ताहरूद्वारा अगुवाइ गरिएका छौँ जसले कठिनाइका समयमा जिइरहेका हामीहरूलाई परमप्रभुको इच्छा सिकाउनुहुन्छ। थप रुपमा, हामीसँग हाम्रो आफ्नै प्रकाशको सीधा पहुँच छ ताकि परमप्रभुले व्यक्तिगत रुपमा हामीलाई सान्त्वना दिन र मार्गदर्शन गर्न सक्नुहुन्छ। देवदूतले अल्मालाई भनेझैं, हामीसँग “रमाउने ठूलो कारण छ।”आल्मा ८:१५। येशू ख्रीष्टको नाउँमा, आमिन |