पुस्तिकाहरू र बोलावटहरू
३८. चर्चका नीतिहरू र मार्गनिर्देशनहरू


“३८. चर्चका नीतिहरू र मार्गदर्शनहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“३८. चर्चका नीतिहरू र मार्गदर्शनहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

३८.

चर्चका नीतिहरू र मार्गनिर्देशनहरू

३८.१

चर्चमा सहभागिता

स्वर्गमा रहनुहुने हाम्रा पिताले आफ्ना सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ । “परमेश्वरमा सबै समान छन्” र “उहाँकहाँ आउन र उहाँको भलाइमा सहभागी हुन” उहाँले सबैलाई आमन्त्रण गर्नुहुन्छ (२ नफी २६:३३) ।

३८.१.१

चर्चका सभाहरूमा उपस्थिति

सबैलाई प्रभुभोज सभा, आइतबारका अन्य सभाहरू र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्ट चर्चका सामाजिक कार्यक्रमहरूमा सभागी हुन स्वागत् छ । उपस्थित हुने सबैले पवित्र स्थानको सम्मान गरेको सुनिश्चित गर्न अध्यक्षता गर्ने अधिकारी उत्तरदायी हुन्छन् ।

उपस्थित हुनेहरूले उपासना वा सभाका अन्य उद्देश्यहरूका विरुद्धमा व्यवधान वा अवरोधहरूबाट सुरूक्षित हुनु पर्छ । चर्चका विभिन्न सभाहरू र प्रसङ्गहरूका आवश्यकताहरूले सबै उमेर र आचरणहरूलाई सम्मान गर्नु पर्छ । यसका लागि अधिकतम मनोरम व्यवहारबाट र ध्यानभङ्ग गर्ने पहिरन वा श्रीङ्गारबाट अलग रहनु पर्छ । यसले मुक्तिदातामा केन्द्रित सभाहरूमा विचलित गर्ने तरिकामा राजनीतिक कथनहरू वा यौन अभिमुखता वा अन्य व्यक्तिगत विशेषताहरू उल्लेख गर्न पनि प्रतिवन्ध गर्छ ।

यदि त्यहाँ अनुपयुक्त व्यवहार छ भने, बिशप वा किला अध्यक्षले प्रेमको आत्मामा निजी सल्लाह दिन्छन् । उनले त्यस अवसरका लागि अनुचित व्यवहार गर्नेहरूलाई स्वर्गका पिता र मुक्तिदाताको उपासनामा विशेष जोड दिएर उपस्थित सबैका लागि पवित्र स्थान कायम राख्न सहयोग गर्नका लागि ध्यान केन्द्रित गर्न प्रोत्साहन गर्छन् ।

चर्च नीतिहरूका अधीनमा चर्च सभागृहहरू निजी सम्पत्तिका रूपमा रहन्छन् । यी मार्गदर्शनहरू पालना गर्न नचाहने व्यक्तिहरूलाई सम्मानजनक तरिकाले चर्चका सभाहरू र कार्यक्रमहरूमा उपस्थित नहुन आग्रह गरिने छ ।

३८.२

विधिहरू र आशीर्वादहरूका लागि नीतिहरू

विधिहरू र आशीर्वादहरूका सम्बन्धमा सामान्य जानकारी अध्याय १८ मा प्रदान गरिएको छ । मन्दिरका विधिहरूका सम्बन्धमा जानकारी अध्याय २७२८ मा प्रदान गरिएको छ । यदि विशपहरूसँग प्रश्नहरू छन् भने, तिनीहरूले किला अध्यक्षलाई सम्पर्क गर्न सक्छन् । यदि किला अध्यक्षहरूसँग प्रश्नहरू छन् भने तिनीहरूले क्षेत्रीय अध्यक्षतालाई सम्पर्क गर्न सक्छन् ।

३८.३

सामाजिक परम्परागत विवाह

चर्चका अगुवाहरूले सदस्यहरूलाई मन्दिरको विवाहका लागि योग्य हुन र विवाह गर्न र मन्दिरमा बाँधिन प्रोत्साहन गर्छन् । स्थानीय कानुनले अनुमति दिएमा, चर्चका अगुवाहरूले सामाजिक परमपरागत विवाह निर्वाह गर्न सक्छन् ।

विवाह गरिने स्थानको कानुन अनुसार सामाजिक परमपरागत विवाह गरिनु पर्छ ।

३८.३.१

कसले सामाजिक परम्परागत विवाह निर्वाह गर्न सक्छ

स्थानीय कानुनले अनुमति दिएमा, हाल सेवारत चर्चका अधिकारीहरूले सामाजिक परम्परागत विवाह समारोह निर्वाह गर्नका लागि आफ्नो बोलावटमा कार्य गर्न सक्छन्:

  • सुसमाचार प्रचार अध्यक्ष

  • किला अध्यक्ष

  • जिल्ला अध्यक्ष

  • बिशप

  • शाखा अध्यक्ष

यी अधिकारीहरूले एक पुरुष र एक महिला बीचको सामाजिक परम्परागत विवाह मात्र निर्वाह गर्न सक्छन् । निम्न सबै सर्तहरू पनि लागू हुनु पर्छ:

  • दुलहा वा दुलही चर्चको सदस्य हुन् वा बप्तिस्माको मिति तय भएको छ ।

  • अधिकारीले अध्यक्षता गर्ने चर्च एकाइमा या त दुलहाको वा दुलहीको बप्तिस्मा पछि सदस्यता अभिलेख हुन्छ वा हुने छ ।

  • विवाह हुने स्थानमा कानुनी रूपमा सामाजिक परम्परागत विवाहमा कार्यभार लिन चर्च अधिकारीलाई अधिकार प्राप्त छ ।

३८.३.४

चर्च भवनहरूमा आयोजित सामाजिक परम्परागत विवाह

यदि यसले नियमित चर्च समारोहहरूको तालीकामा व्यवधान पुर्‍याउँदैन भने चर्च भवनमा विवाह समारोहको आयोजना गर्न सकिन्छ । विवाह विश्रामको दिनमा वा सोमबार साँझमा गरिनु हुँदैन । चर्च भवनहरूमा गरिने विवाहहरू सरल र मर्यादित हुनु पर्छ । सङ्गीत पवित्र, सम्मानयोग्य र आनन्ददायी हुनु पर्छ ।

विवाहहरू सभागृह, सांस्कृतिक हल वा अन्य कुनै उपयुक्त कोठामा गर्न सकिन्छ । विवाहितहरूले सभागृहको उचित प्रयोगका लागि मार्गदर्शनहरू पालना गर्नु पर्छ ।

३८.३.६

सामाजिक परम्परागत विवाह समारोह

सामाजिक परम्परागत विवाह निर्वाह गर्न, चर्च अधिकारीले दम्पत्तीलाई सम्बोधन गर्छन् र भन्दछन् , “कृपया एक अर्काको दाहिने हात समात्नुहोस् ।” त्यसपछि उनले भन्दछन्, “[दुलहाको पूरा नाम] र [दुलहीको पूरा नाम], तपाईंले अब परमेश्वर र यी साक्षीहरूको उपस्थितिमा प्रवेश गर्ने प्रतिज्ञाको प्रतीकमा एक अर्काको दाहिने हात समात्नु भएको छ ।” (दम्पत्तीले समय अगावै यी साक्षीहरू छान्न वा मनोनयन गर्न सक्छन् ।)

त्यसपछि चर्च अधिकारीले दुलहालाई सम्बोधन गर्छन् र सोध्छन्, “[दुलहाको पूरा नाम], के तपाईं [दुलहीको पूरा नाम]लाई तपाईंको कानुनी रूपमा विवाहित पत्नीका रूपमा स्वीकार गर्नुहुन्छ र तपाईंको आफ्नै स्वतन्त्र इच्छा र छनोटले उहाँको साथी र कानुनी रूपमा विवाहित पतिका रूपमा प्रतिज्ञा गर्नुहुन्छ? कि तपाईं उहाँसँगै समाहित हुनुहुने छ र अरू कसैसँग होइन; ताकि तपाईंले विवाहको पवित्र राज्यसँग सम्बन्धित सबै नियम, उत्तरदायित्व र वाचा-बन्धनहरू पालना गर्नु हुने छ; र तपाईंहरू दुबै बाचुन्जेलसम्म उहाँलाई प्रेम, आदर र कदर गर्नु हुने छ?”

दुलहाले जवाफ दिन्छन्, “हो” वा “म गर्छु ।”

त्यसपछि चर्च अधिकारीले दुलहीलाई सम्बोधन गर्दछ्न् र सोध्छन्, “[दुलहीको पूरा नाम], के तपाईं [दुलहाको पूरा नाम]लाई तपाईंको कानुनी रूपमा विवाहित पतिका रूपमा स्वीकार गर्नुहुन्छ र तपाईंको आफ्नै स्वतन्त्र इच्छा र छनोटले उहाँको साथी र कानुनी रूपमा विवाहित पत्नीका रूपमा प्रतिज्ञा गर्नुहुन्छ? कि तपाईं उहाँसँगै समाहित हुनुहुने छ र अरू कसैसँग होइन; ताकि तपाईंले विवाहको पवित्र राज्यसँग सम्बन्धित सबै नियम, उत्तरदायित्व र वाचा-बन्धनहरू पालना गर्नु हुने छ; र तपाईंहरू दुबै बाचुन्जेलसम्म उहाँलाई प्रेम, आदर र कदर गर्नु हुने छ?”

दुलहीले जवाफ दिन्छिन्, “हो” वा “म गर्छु ।”

चर्च अधिकारीले त्यसपछि दम्पत्तीलाई सम्बोधन गर्दै भन्दछन्, “मलाई पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको एल्डरका रूपमा निहित कानुनी अधिकारका आधारमा, म तपाईंहरूलाई, [दुलहाको नाम] र [दुलहीको नाम], तपाईंको नश्वर जीवनको अवधिका लागि विवाहित पति र पत्नीका रूपमा उच्चारण गर्छु ।”

(अध्यक्षता गर्ने चर्च अधिकारीका रूपमा सेवा नगर्ने पादरीका लागि वैकल्पिक शब्द: “मलाई [सैन्य वा नागरिक सङ्गठनको शाखा] मा पादरीका रूपमा निहित कानुनी अधिकारका आधारमा, म तपाईंहरूलाई, [दुलहाको नाम] र [दुलहीको नाम] तपाईंको नश्वर जीवनको अवधिका लागि विवाहित पति र पत्नीका रूपमा उच्चारण गर्छु ।”)

“परमेश्वरले तपाईंको एकतालाई तपाईंको वंशजमा खुशी अनि सँगै खुशीले भरीपूर्ण लामो जीवनको आशीर्वाद दिऊन् र तपाईंहरूले गर्नुभएका सपथलाई पवित्र राख्नका लागि उहाँले तपाईंहरूलाई आशीर्वाद दिऊन् । यी आशीर्वादहरू म परमप्रभु येशू ख्रीष्टका नाममा तपाईं हरूका लागि आह्वान गर्छु, आमीन ।”

पति र पत्नीका रूपमा एकअर्कालाई चुम्बन गर्ने आमन्त्रण, सांस्कृतिक मापदण्डहरूमा आधारित, वैकल्पिक छ ।

३८.४

बाँधिने नीतिहरू

जब सदस्यहरूले विधिहरू प्राप्त गर्ने र तिनीहरूले गरेका करारहरूलाई सम्मान गर्ने प्रयास गर्दछन् मन्दिरका बाँधिने विधिहरूले परिवारहरूलाई अनन्तकालका लागि सँगै जोड्छ । बाँधिने विधिले समावेश गर्छ:

  • पति र पत्नीको बन्धन ।

  • अभिभावकहरूसँग बालबालिकाहरूको बन्धन ।

आफ्ना करारहरू पालना गर्नेहरूले बन्धनद्वारा प्रदान गरिएका व्यक्तिगत आशीर्वादहरू धारण गर्ने छन् । यदि व्यक्तिका पति या पत्नीले करार तोडेका छन् वा विवाहबाट पछि हटेका छन् भने पनि यो सत्य हुन्छ ।

अभिभावकसँग बाँधिएका वा करारमा जन्मेका आस्थावान् बालबालिकाहरूले अनन्त अभिभावकत्वका आर्शीर्वाद धारण गर्छन् । तिनीहरूका अभिभावकहरूले तिनीहरूको विवाहको बन्धन रद्द गरे तापनि, तिनीहरूको चर्चको सदस्यता फिर्ता लिए तापनि वा तिनीहरूको सदस्यता त्यागेको भएता पनि यो सत्य हुन्छ ।

यदि तिनीहरूसँग बाँधिने नीतिहरूका सम्बन्धमा प्रश्नहरू छन् भने सदस्यहरूले आफ्ना बिशपसँग सल्लाह गर्नु पर्छ । यदि बिशपसँग प्रश्नहरू छन् भने उनले किला अध्यक्षलाई सम्पर्क गर्छन् । यदि तिनीहरूसँग कुनै प्रश्नहरू भएमा किला अध्यक्षहरूले तिनीहरूको मन्दिर जिल्लामा रहेका मन्दिरको अध्यक्षता, क्षेत्रीय अध्यक्षता वा प्रथम अध्यक्षताको कार्यालयमा सम्पर्क गर्न सक्छन् ।

३८.५

मन्दिरका कपडा र वस्त्रहरू

3३८.५.१

मन्दिरका कपडा

मन्दिरमा अभिदान र बाँधिने विधिहरूका समयमा, चर्चका सदस्यहरूले सेतो कपडा लगाउँछन् । महिलाहरूले निम्न सेतो लुगा लगाउँछन्: लामो-बाहुला वा तीन-चौथाई-बाहुला पोशाक (वा मिडी र लामो-बाहुला वा तीन-चौथाई-बाहुला भएको ब्लाउज), मोजा वा स्टकिन र जुत्ता वा चप्पल ।

पुरुषहरूले निम्न सेतो कपडा लगाउँछन्: लामो बाहुलाको सर्ट, नेकटाई वा बो टाई, प्यान्ट, मोजा र जुत्ता वा चप्पल ।

अभिदान र बाँधिने विधिहरूका समयमा, सदस्यहरूले आफ्ना सेतो वस्त्रमा अतिरिक्त औपचारिक कपडा लगाउँछन् ।

३८.५.२

मन्दिरका कपडा र वस्त्रहरू प्राप्त गर्ने

वार्ड र किला अगुवाहरूले अभिदान प्राप्त सदस्यहरूलाई मन्दिरका आफ्नै वस्त्र लिन प्रोत्साहन गर्छन् । मन्दिरको कपडा र वस्त्रहरू चर्चका वितरण केन्द्र वा मा खरीद गर्न सकिन्छ store.ChurchofJesusChrist.org. किला र वार्ड कारिन्दाहरूले सदस्यहरूलाई वस्त्र मगाउन सहयोग गर्न सक्छन् ।

३८.५.५

वस्त्र पहिरिने र त्यसको हेरचाह गर्ने

अभिदान प्राप्त गर्ने सदस्यहरूले आफ्नो जीवनभर मन्दिरको वस्त्र लगाउने करार गर्छन् ।

मन्दिरको वस्त्र लगाउनु एउटा पवित्र सुअवसर हो । त्यसो गर्नु भनेको मुक्तिदाता येशू ख्रीष्टलाई अनुशरण गर्ने भित्री प्रतिबद्धताको बाहिरी अभिव्यक्ति हो ।

वस्त्रले मन्दिरमा गरेका करारहरूको स्मरण गराउँछ । जब जीवनभर ठीकसँग लगाइन्छ, यसले सुरक्षाका रूपमा कार्य गर्ने छ ।

त्यो वस्त्र बाहिरी कपडाको भित्रपट्टी लगाउनु पर्छ । यो व्यक्तिगत प्राथमिकताको विषय हो कि अन्य भित्री कपडाहरू मन्दिरका वस्त्र माथि वा मुनि लगाइन्छ ।

वस्त्र लगाउँदा उचित रूपमा गर्न सकिने क्रियाकलापहरूका लागि वस्त्र फुकाल्नु हुँदैन । वस्त्रका विभिन्न शैलीहरू समायोजन गर्न यसलाई परिमार्जन गरिनु हुँदैन ।

त्यो वस्त्र पवित्र छ र सम्मानका साथ व्यवहार गरिनु पर्छ । अभिदान प्राप्त सदस्यहरूले वस्त्र लगाउने सम्बन्धमा व्यक्तिगत प्रश्नहरूको जवाफका लागि पवित्र आत्माको निर्देशन खोज्नु पर्छ ।

३८.५.७

वस्त्र र मन्दिरको संस्कारका वस्त्र हटाउने

मन्दिरका जीर्ण वस्त्रहरू हटाउनका लागि सदस्यहरूले चिन्हहरू काटेर नष्ट गर्नु पर्छ । सदस्यहरूले त्यसपछि बाँकी कपडालाई काट्छन् ताकि यसलाई वस्त्रका रूपमा पहिचान गर्न सकिँदैन । बाँकी कपडा फाल्न सकिन्छ ।

सदस्यहरूले अन्य अभिदान प्राप्त सदस्यहरूलाई राम्रो अवस्थामा रहेका वस्त्रहरू र मन्दिरका वस्त्रहरू दिन सक्छन् ।

३८.५.८

मन्दिरका दफन वस्त्र

यदि सम्भव छ भने, मृतक सदस्यहरूलाई मन्दिरका वस्त्रमा दफन गरिनु पर्छ वा दाहसंस्कार गरिनु पर्छ । यदि सांस्कृतिक परम्परा वा दफन अभ्यासहरूले यसलाई अनुपयुक्त वा कठीन बनाउँछ भने, ती वस्त्र माथि सरी शरीरको छेउमा राख्न सकिन्छ ।

पुरूषको शरीरमा मन्दिरका वस्त्र र निम्न सेतो वस्त्र लगाइन्छ: लामो बाहुलाको सर्ट, नेकटाई वा बो टाई, प्यान्ट, मोजा र जुत्ता वा चप्पल । महिलाको शरीरमा मन्दिरका वस्त्र र निम्न सेतो वस्त्र लगाइन्छ: लामो बाहुला वा तीन-चौथाई-बाहुलाको पोशाक (वा मिडी र लामो-बाहुला वा तीन-चौथाई-बाहुलाको ब्लाउज), मोजा वा स्टकिन र जुत्ता वा चप्पलहरू ।

अभिदानमा निर्देशन दिइए जसरी नै शरीरमा दाहासंस्कारका मन्दिरका वस्त्र लगाइदिइन्छ । वस्त्र दाहिने काँधमा राखिन्छ र डोरीद्वारा बायाँ कम्मरमा बाँधिन्छ । एप्रन कम्मर वरिपरि बाँधिन्छ । पटुका कम्मरको वरिपरि बेरिन्छ र बायाँ कम्मरमा धनुषको आकारमा बाँधिन्छ । शवपेटिका वा शबबाकस बन्द गर्ने समय नभएसम्म मानिसको टोपी सामान्यतया उसको शरीरको छेउमा राखिन्छ । त्यसपछि टोपी बायाँ कानमा धनुषको आकार सँगै राखिन्छ । महिलाको घुम्टो उनको टाउकोको पछाडिको तकियामा बेरिएको हुन सक्छ । दफन वा दाहसंस्कार गर्नु अघि महिलाको मुहार घुम्टोले छोप्ने विषय परिवारद्वारा निर्धारण गारिएअनुसार वैकल्पिक छ ।

३८.६

नैतिक विषयहरूमा नीतिहरू

३८.६.१

गर्भपतन

परमप्रभुले आज्ञा दिनुभयो, “तिमीले… नमार्नू, न त त्यस्तो केही गर्नू” ( सिद्धान्त र करार ५९:६) । चर्चले व्यक्तिगत वा सामाजिक सुविधाका लागि वैकल्पिकको गर्भपतनको विरोध गर्छ । सदस्यहरूले गर्भपतन स्वीकार गर्ने, निष्पादन गर्ने, व्यवस्था गर्ने, भुक्तानी गर्ने, सहमति प्रदान गर्ने वा प्रोत्साहन गर्ने गर्नु हुँदैन । केवल सम्भावित अपवादहरू ती हुन् जब:

  • गर्भधारण जबरजस्ती बलात्कार वा हाडनाताकरणीको परिणाम हो ।

  • एक सक्षम चिकित्सकले आमाको जीवन वा स्वास्थ्य गम्भीर खतरामा छ भनेर निर्धारण गर्छन् ।

  • एक सक्षम चिकित्सकले भ्रूणमा गम्भीर समस्याहरू छन् जसले बच्चालाई जन्म पछाडि जिउन दिँदैन भनेर निर्धारण गर्छन् ।

यी अपवादहरूले पनि स्वतः रूपमा गर्भपतनलाई औचित्य दिँदैनन् । गर्भपतन एउटा सबैभन्दा गम्भीर विषय हो । उत्तरदायी व्यक्तिहरूले प्रार्थनाद्वारा प्रमाणित गरेपछि मात्र विचार गर्नु पर्छ । सदस्यहरूले यस प्रक्रियाको अंशका रूपमा आफ्ना बिशपहरूसँग सल्लाह गर्न सक्छन् ।

३८.६.२

दुर्व्यवहार

दुर्व्यवहार भनेको शारीरिक, यौन, संवेगात्मक वा आर्थिक हानी निम्त्याउने तरिकामा अरूहरूलाई दुर्व्यवहार वा बेवास्ता गर्नु हो । कुनै पनि स्वरूपमा दुर्व्यवहारलाई सहन गर्न सकिँदैन भन्ने चर्चको अडान छ । आफ्नो दम्पत्ती, छोराछोरी, परिवारका अन्य सदस्यहरू वा अरू कसैलाई दुर्व्यवहार गर्नेहरूले परमेश्वर र मानवका नियमहरू उल्लङ्घन गर्छन् ।

सबै सदस्यहरू, विशेष गरी अभिभावक र अगुवाहरूलाई सतर्क र लगनशील हुन र बालबालिका र अरूहरूलाई दुर्व्यवहारबाट संरक्षण गर्न सक्ने सबै प्रयास गर्न प्रोत्साहन गरिन्छ । यदि सदस्यहरू दुर्व्यवहारका घटनाहरूका सम्बन्धमा सचेत भएमा, तिनीहरूले नागरिक अधिकारीहरूलाई सूचना गर्दछन् र बिशपसँग सल्लाह गर्छन् । चर्चका अगुवाहरूले दुर्व्यवहारको सूचनाहरूलाई गम्भीर रूपमा लिनु पर्दछ र तिनीहरूलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन ।

बालबालिका वा युवाहरूसँग काम गर्ने सबै वयस्कहरूले एक महिनाभित्र बालबालिका र युवा सुरक्षा प्रशिक्षण पूरा गर्नु पर्छ (हेर्नुहोस् ProtectingChildren.ChurchofJesusChrist.org) । तिनीहरूले प्रत्येक तीन वर्षमा तालीम दोहोर्‍याउनु पर्दछ ।

जब दुर्व्यवहार हुन्छ, चर्चका अगुवाहरूको प्रथम र तत्कालिन उत्तरदायित्व भनेको दुर्व्यवहारमा परेकाहरूलाई सहयोग गर्नु र असुरक्षित व्यक्तिहरूलाई भविष्यको दुर्व्यवहारबाट जोगाउनु हो । अगुवाहरूले व्यक्तिलाई दुर्व्यवहारपूर्ण वा असुरक्षित घर वा परिस्थितिमा बस्न प्रोत्साहन गर्नु हुँदैन ।

३८.६.२.१

दुर्व्यवहार सहयोग लाइन

केही देशहरूमा, चर्चले किला अध्यक्ष र बिशपहरूलाई सहयोग गर्न गोप्य दुर्व्यवहार सहयोग लाइन स्थापना गरेको छ । यी अगुवाहरूले तत्कालै कुनै व्यक्तिलाई दुर्व्यवहार गरेको हुनसक्ने—वा दुर्व्यवहारको जोखिममा रहेको प्रत्येक अवस्थाका सम्बन्धमा सहयोग लाइनमा सम्पर्क गर्नु पर्छ । यदि उनीहरूले सदस्यले बाल अश्लील सामग्री हेर्ने, खरीद गर्ने वा वितरण गर्ने गरेको जानकारी प्राप्त गरे भने उनीहरूले यसलाई पनि सम्बोन्धन गर्न सम्पर्क गर्नु पर्छ ।

सहयोग लाइन नभएका देशहरूमा, दुर्व्यवहारका सम्बन्धमा जानकारी प्राप्त गर्ने बिशपले आफ्नो किला अध्यक्षलाई सम्पर्क गर्नु पर्छ । किला अध्यक्षताले क्षेत्रीय कार्यालयमा रहेको क्षेत्रीय कानुनी परिषदबाट मार्गदर्शन लिनु पर्छ ।

३८.६.२.२

दुर्व्यवहारका सम्बन्धमा सल्लाह

दुर्व्यवहारका पीडितहरू प्रायश: गम्भीर आघातबाट पीडित हुन्छन् । किला अध्यक्ष र बिशपहरूले हृदयदेखि करूणा र सहानुभूतिका साथ उत्तर दिन्छन् । उनले पीडितहरूलाई दुर्व्यवहारको विनाशकारी प्रभावहरू हटाउन सहयोग गर्नका लागि आध्यात्मिक सल्लाह र समर्थन प्रदान गर्छन् ।

कहिलेकाहीँ पीडितहरूलाई लज्जा वा दोषको भावना हुन्छ । पीडितहरू पापका दोषी हुँदैनन् । अगुवाहरूले तिनीहरूलाई र तिनीहरूका परिवारहरूलाई परमेश्वरको प्रेम र येशू ख्रीष्ट र उहाँको प्रायश्चितद्वारा प्राप्त हुने चङ्गाइ बुझ्न सहयोग गर्छन् (हेर्नुहोस् अल्मा १५:८; ३ नफी १७:९) ।

किला अध्यक्षहरू र बिशपहरूले दुर्व्यवहार गरेकाहरूलाई पश्चात्ताप गर्न र तिनीहरूका अपमानजनक व्यवहार बन्द गर्न सहयोग गर्नु पर्छ । यदि कुनै वयस्कले बालक विरुद्ध यौन पाप गरेका छन् भने, त्यो व्यवहार परिवर्तन गर्न धेरै कठीन हुन सक्छ । पश्चात्तापको प्रक्रिया धेरै लामो हुन सक्छ । हेर्नुहोस् ३८.६.२.३

चर्चका अगुवाहरूबाट प्रेरित सहयोग प्राप्त गर्नुका साथै पीडितहरू, अपराधीहरू र तिनीहरूका परिवारहरूलाई व्यावसायिक सल्लाहको आवश्यकता पर्न सक्छ । जानकारीका लागि, हेर्नुहोस् ३१.३.६

३८.६.२.३

बाल वा युवाको दुर्व्यवहार

बाल वा युवाको दुर्व्यवहार विशेष गरी गम्भीर पाप हो (हेर्नुहोस् लुका १७:२) । यहाँ प्रयोग गरिए अनुसार, बाल वा युवा दुर्व्यवहारले निम्न विषयहरूलाई समावेश गर्दछ:

  • शारीरिक दुर्व्यवहार: शारीरिक हिंसाद्वारा गम्भीर शारीरिक हानी पुर्‍याउने । कुनै हानी नदेखिने हुन सक्छन् ।

  • यौन दुर्व्यवहार वा शोषण: बालक वा युवासँग कुनै पनि यौन क्रियाकलाप गर्नु वा जानीजानी अरूहरूलाई त्यस्तो क्रियाकलाप गर्न अनुमति दिनु वा सहयोग गर्नु । यहाँ प्रयोग गरिए अनुसार, यौन दुर्व्यवहारले समान उमेरका दुई नाबालिगहरू बीचको सहमतिमा भएको यौन क्रियाकलापलाई समावेश गर्दैन ।

  • सम्वेगात्मक दुर्व्यवहार: बालक वा युवाको आत्म-सम्मान वा आत्म-मूल्यको भावनालाई गम्भीर रूपमा क्षति पुर्‍याउने कार्यहरू र शब्दहरू प्रयोग गर्ने । सामान्यतया यसले बारम्बार र निरन्तर अपमान, छल योजना, अपमानित र बेइमान गर्ने आलोचनाहरू समावेश गर्छ । यसले घोर बेवास्ता पनि समावेश गर्न सक्छ ।

  • बाल अश्लीलता: हेर्नुहोस् ३८.६.६

यदि कुनै बिशप वा किला अध्यक्षले कुनै सदस्य बालक वा युवामा दुर्व्यवहार भएको जानकारी प्राप्त गरेमा वा शङ्का गरेमा, उनले तत्कालै ३८.६.२.१ का मार्गदर्शनहरू पालना गर्छन् । उनले थप दुर्व्यवहारबाट जोगाउन सहयोग गर्नका लागि पनि कारवाही अगाडि बढाउँछन् ।

यदि कुनै वयस्क सदस्यले यस खण्डमा वर्णन गरिएबमोजिम कुनै बालबालिका वा युवालाई दुर्व्यवहार गर्छन् भने चर्च सदस्यता परिषद् र अभिलेख विश्लेषण आवश्यक हुन्छ । ३८.६.२.५पनि हेर्नुहोस् ।

यदि कुनै नाबालिगले कुनै बालबालिकालाई दुर्व्यवहार गर्छ भने, किला अध्यक्षले मार्गदर्शनका लागि प्रथम अध्यक्षताको कार्यालयलाई सम्पर्क गर्छन् ।

३८.६.२.४

दम्पत्ती वा अन्य वयस्कको दुर्व्यवहार

प्रायश: त्यहाँ दुर्व्यवहारको एउटै परिभाषा हुँदैन जुन सबै परिस्थितिहरूमा लागु गर्न सकिन्छ । यद्यपि, अपमानजनक व्यवहारको गम्भीरताको वर्णक्रम छ । यो वर्णक्रम कहिलेकाहीँ तीखो शब्दहरू प्रयोग भएर गम्भीर हानि पुर्याउने सम्मको हुन्छ ।

यदि कुनै बिशप वा किला अध्यक्षले दम्पत्ती वा अन्य वयस्कको दुर्व्यवहारका सम्बन्धमा जानकारी प्राप्त गरे भने, उनले तत्कालै ३८.६.२.१ का मार्गदर्शनहरू पालना गर्छन् । उनले थप दुर्व्यवहारबाट जोगाउन सहयोग गर्नका लागि पनि कार्यबाही अगाडि बढाउँछन् ।

दुर्व्यवहारलाई सम्बोधन गर्न अगुवाहरूले व्यक्तिगत सल्लाह वा सदस्यता परिषद् कुन सबैभन्दा उपयुक्त परिस्थिति हो भनेर निर्धारण गर्न आत्माको मार्गदर्शन अन्वेषण गर्छन । तिनीहरूले परिस्थितिहरूका सम्बन्धमा आफ्ना पादरित्व अगुवासँग प्रत्यक्ष सल्लाह पनि गर्न सक्छन् । यद्यपि, पति वा पत्नी वा अन्य वयस्कको कुनै पनि दुर्व्यवहार निम्न लिखित रूपमा वर्णन गरिएअनुसारको स्तरहरूमा बढ्छ भने सदस्यता परिषद् गठन गरिनु आवश्यक हुन्छ ।

  • शारीरिक दुर्व्यवहार: शारीरिक हिंसाद्वारा गम्भीर शारीरिक हानी पुर्‍याउने । कुनै हानी नदेखिने हुन सक्छन् ।

  • यौन दुर्व्यवहार: निर्दिष्ट गरिएका परिस्थितिहरू ३८.६.१८.३ मा हेर्नुहोस् ।

  • सम्वेगात्मक दुर्व्यवहार: व्यक्तिको आत्म-सम्मान वा आत्म-मूल्यको भावनालाई गम्भीर रूपमा क्षति पुर्‍याउने कार्यहरू र शब्दहरू प्रयोग गर्ने । सामान्यतया यसले बारम्बार र निरन्तर अपमान, छल योजना, अपमानित र बेइमान गर्ने आलोचनाहरू समावेश गर्दछ ।

  • आर्थिक दुर्व्यवहार: आर्थिक रूपमा कसैको फाइदा उठाउने । यसमा व्यक्तिको सम्पत्ति, पैसा वा अन्य बहुमूल्य वस्तुहरूको अवैध वा अनधिकृत प्रयोग समावेश हुन सक्छ । यसमा कसैमाथि जालसाजी गरेर आर्थिक शक्ति प्राप्त गर्ने पनि समावेश गर्न सक्छ । यसमा बाध्य पार्ने व्यवहार गर्न वित्तीय शक्ति प्रयोग गर्ने विषय समावेश गर्न सक्छ ।

३८.६.२.५

चर्चका बोलावटहरू, मन्दिर अनुमति-पत्रहरू र सदस्यता अभिलेखहरूको विश्लेषणहरू

अरूहरूलाई दुर्व्यवहार गर्ने सदस्यहरूलाई चर्च बोलावटहरू दिइनु हुँदैन र उनीहरूले पश्चात्ताप नगरेसम्म र चर्च सदस्यता प्रतिबन्धहरू नहटाइएसम्म मन्दिर अनुमति-पत्र प्राप्त नगर्न सक्छन् ।

यदि कुनै व्यक्तिले बालबालिका वा युवालाई यौन दुर्व्यवहार गरेका छन् वा गम्भीर रूपमा बालबालिका वा युवालाई शारीरिक वा भावनात्मक रूपमा दुर्व्यवहार गरेका छन् भने, उनको सदस्यता अभिलेख विश्लेषण गरिने छ । ऊ वा उनलाई बालबालिका वा युवाहरू समावेश भएको कुनै पनि बोलावट वा कार्यभार दिइनु हुँदैन । यसले घरमा युवा वा बालबालिकाहरू भएको परिवारको सेवा गर्ने जिम्मेवारी नदिने विषयलाई समावेश गर्छ । यसले सेवाको सहयात्रीका रूपमा कुनैपनि युवा नहुने विषयलाई पनि समावेश गर्छ । यी प्रतिबन्धहरू निरन्तर रहनु पर्छ जबसम्म प्रथम अध्यक्षताले विश्लेषणको प्रतिबन्ध हटाउने अधिकार दिँदैनन् ।

३८.६.२.६

किला र वार्ड परिषद्हरू

किला र वार्ड परिषद् सभाहरूमा, किला अध्यक्षहरू र बिशप्रिकहरूले नियमित रूपमा चर्च नीतिहरू र दुर्व्यहारलाई रोकथाम र प्रतिक्रिया दिने मार्गदर्शनहरूको समीक्षा गर्छन् । अगुवाहरू र परिषद्का सदस्यहरूले यस संवेदनशील विषयलाई सिकाउँदा र छलफल गर्दा आत्माको निर्देशन अन्वेषण गर्छन् ।

परिषद्का सदस्यहरूले बाल तथा युवा सुरक्षा तालीम पनि पूरा गर्नुपर्ने छ (हेर्नुहोस् ३८.६.२) ।

३८.६.२.७

दुर्व्यवहार सम्बन्धी कानुनी मुद्दाहरू

यदि कुनै सदस्यको अपमानजनक क्रियाकलापले प्रचलित कानुनको उल्लङ्घन गरेको छ भने, विशप वा किला अध्यक्षले ती सदस्यलाई यी क्रियाकलापहरू कानुन कार्यान्वयन गर्ने कर्मचारी वा अन्य उपयुक्त सरकारी अधिकारीहरूलाई सूचना दिन आग्रह गर्नु पर्छ ।

चर्चका अगुवाहरू र सदस्यहरूले नागरिक अधिकारीहरूलाई दुर्व्यवहारको सूचना दिने सबै कानुनी उत्तरदायित्वहरू पूरा गर्नु पर्छ ।

३८.६.४

जन्म नियन्त्रण

यो विवाहित दम्पत्तीहरूको विशेषाधिकार हो जो सन्तानहरू जन्माउन सक्षम छन् परमेश्वरका आत्मिक सन्तानहरूका लागि नश्वर शरीरहरू प्रदान गर्न, जसलाई पालनपोषण गर्न र हुर्काउन तिनीहरू उत्तरदायी छन् (हेर्नुहोस् २.१.३) । कति सन्तान जन्माउने र कहिले जन्माउने भन्ने निर्णय नितान्त व्यक्तिगत र निजी हो । यो दम्पत्ती र परमप्रभु बीच छोडिनु पर्छ ।

३८.६.५

पवित्रताको नियम र निष्ठा

परमप्रभुको पवित्रताको नियम यी हुन्:

  • एक पुरुष र एक महिला बीचको कानुनी विवाह बाहिर यौन सम्बन्धमा संयमता ।

  • विवाह भित्र निष्ठा ।

पति-पत्नीबीचको शारीरिक घनिष्टता सुन्दर र पवित्र बनाउनका लागि हो । यो सन्तानहरूको सृष्टि र पति र पत्नी बीचको प्रेमको अभिव्यक्तिका लागि परमेश्वरले नियुक्त गर्नुभएको हो ।

३८.६.६

बाल अश्लील साहित्य

चर्चले कुनै पनि स्वरूपको बाल अश्लील साहित्यको निन्दा गर्छ । यदि कुनै बिशप वा किला अध्यक्षले कुनै सदस्य बाल अश्लील साहित्यमा संलग्न भएको जानकारी प्राप्त गरेमा, उनले तत्कालै ३८.६.२.१ का निर्देशनहरू पालना गर्छन् ।

३८.६.८

महिला यौनाङ्ग विच्छेदन

चर्चले महिलाको यौनाङ्ग विच्छेदको निन्दा गर्छ ।

३८.६.१०

हाडनाताकरणी

चर्चले कुनै पनि स्वरूपको हाडनाताकरणीको निन्दा गर्दछ । यहाँ प्रयोग गरिए अनुसार, हाडनाताकरणी यी बीचका यौन सम्बन्ध हुन्:

  • एक अभिभावक र एक बालक ।

  • एक हजुरबुबा वा हजुरआमा र एक बालक ।

  • दाजुभाइ दिदीबहिनी ।

  • सानुबुबा वा सानीआमा र भतिजी वा भतिजा ।

यहाँ प्रयोग गरिए अनुसार, बालक, नातिनातिना, दाजुभाइ दिदीबहिनी, भतिजीभतिजाका जैविक, ग्रहण गरिएका, सौतनी वा लालन-पालन गरेका सम्बन्धहरू समावेश छन् ।

जब एक नाबालिग हाडनाताकरणीको शिकार हुन्छन्, बिशप वा किला अध्यक्षले यो उपलब्ध भएका देशहरूमा चर्चको दुरुपयोग सहायता लाइनलाई सम्पर्क गर्छन् (हेर्नुहोस् ३८.६.२.१) । अन्य देशहरूमा, किला अध्यक्षले क्षेत्रीय विभागमा क्षेत्रीय कानुनी परिषदबाट मार्गदर्शन लिनु पर्छ । उनलाई परिवारिक सेवा कर्मचारीहरू वा क्षेत्रीय विभागमा कल्याण र आत्मनिर्भरता प्रबन्धकसँग सल्लाह गर्न पनि प्रोत्साहन गरिन्छ ।

यदि कुनै सदस्यले हाडनाताकरणी गर्दछन् भने चर्च सदस्यता परिषद् र अभिलेख टिप्पणी आवश्यक छ । प्रायश: हाडनाताकरणीमा चर्चले व्यक्तिको सदस्यता फिर्ता लिनु आवश्यक छ ।

यदि एक नाबालिगले हाडनाताकरणी गर्दछ भने, किला अध्यक्षले निर्देशनका लागि प्रथम अध्यक्षताको कार्यालयमा सम्पर्क गर्छन् ।

हाडनाताकरणीका पीडितहरू प्रायश: गम्भीर आघातबाट पीडित हुन्छन् । अगुवाहरूले हृदयदेखि करूणा र सहानुभूतिका साथ उत्तर दिन्छन् । तिनीहरूले हाडनाताकरणीको विनाशकारी प्रभावहरू हटाउन आध्यात्मिक सहयोग र सल्लाह प्रदान गर्छन् ।

कहिलेकाहीँ पीडितहरूलाई लज्जा वा दोषको भावना हुन्छ । पीडितहरू पापका दोषी छैनन् । अगुवाहरूले तिनीहरूलाई र तिनीहरूका परिवारहरूलाई परमेश्वरको प्रेम र येशू ख्रीष्ट र उहाँको प्रायश्चितद्वारा प्राप्त हुने चङ्गाइ बुझ्न सहयोग गर्दछन् (हेर्नुहोस् अल्मा १५:८; ३ नफी १७:९) ।

चर्चका अगुवाहरूबाट प्रेरित सहयोग प्राप्त गर्नुका साथै पीडितहरू र तिनीहरूका परिवारहरूलाई व्यावसायिक सल्लाहको आवश्यकता पर्न सक्छ । जानकारीका लागि, हेर्नुहोस् ३८.६.१८.२

३८.६.१२

जादू-टुना

जादू-टुना अन्धकारमा केन्द्रित हुन्छ र यसले छलतर्फ अगुवाइ गर्छ । यसले ख्रीष्टमाथिको आस्थालाई नष्ट गर्दछ ।

जादू-टुनामा शैतानको उपासना समावेश हुन्छ । यसले येशू ख्रीष्टको सुसमाचारसँग मेल नखाने रहस्यमय क्रियाकलापहरू पनि समावेश गर्छ । त्यस्ता क्रियाकलापहरूमा यी समावेश छन् (तर सीमित छैनन्) भाग्य-बताउने, श्रापहरू र निको पार्ने अभ्यासहरू जुन परमेश्वरको पादरित्व शक्तिको अनुकरण हो (हेर्नुहोस् मोरोनी ७:११-१७) ।

चर्चका सदस्यहरूले कुनै पनि प्रकारमा शैतानको उपासनामा संलग्न हुनु हुँदैन वा कुनै पनि तरिकामा जादू-टुनामा सहभागी हुनु हुँदैन । तिनीहरूले वार्तालाप वा चर्च सभाहरूमा यस्तो अन्धकारमा ध्यान दिनु हुँदैन ।

३८.६.१३

अश्लिल साहित्य

चर्चले अश्लील साहित्यको कुनै पनि स्वरूपको निन्दा गर्दछ । कुनै पनि प्रकारको अश्लील साहित्यको प्रयोगले व्यक्तिगत जीवन, परिवार र समाजलाई हानी पुर्‍याउँछ । यसले परमप्रभुको आत्मालाई पनि टाढा लैजान्छ । चर्चका सदस्यहरूले सबै प्रकारका अश्लील सामग्रीहरूबाट जोगिनु पर्छ र यसको उत्पादन, प्रसार र प्रयोगको प्रतिरोध गर्नु पर्छ ।

सामान्यतया व्यक्तिलाई अश्लील साहित्य प्रयोग गरेमा पश्चाताप गर्नका लागि सहयोग गर्न व्यक्तिगत सल्लाह र अनौपचारिक सदस्यता प्रतिबन्धहरू पर्याप्त हुन्छन् । सदस्यता परिषद्हरू सामान्यतया आयोजना गरिँदैनन् । यद्यपि, सदस्यको विवाह वा परिवारलाई महत्त्वपूर्ण हानि पुर्‍याउने अश्लिल साहित्यको गहन र बाध्यकारी प्रयोगभएको अवस्थामा परिषद् आवश्यक हुन सक्छ (हेर्नुहोस् ३८.६.५) । यदि कुनै सदस्यले बालबालिकाका अश्लिल तस्बिरहरू बनाउँछन्, बाँढ्छन्, राख्छन् वा बारम्बार हेर्छन् भने परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३८.६.६) ।

३८.६.१४

पूर्वाग्रह

सबै मानिसहरू परमेश्वरका सन्ततिहरू हुन् । सबै दाजुभाइ र दिदीबहिनीहरू हुन् जो उहाँको दैवी परिवारका अंश हुन् (हेर्नुहोस्”परिवार: संसारका लागि एक घोषणा”) । परमेश्वरले “एक जनाबाट समस्त राष्ट्रको निर्माण गर्नुभयो” (प्रेरित १७:२६) । उहाँका लागि “सबै समान छन्” (२ नफी २६:३३) । प्रत्येक व्यक्ति “आफ्नो दृष्टिमा अन्य जस्तै बहुमूल्य छ” (याकूब २:२१) ।

पूर्वाग्रह परमेश्वरको प्रकाशित वचनसँग मेल खाँदैन । परमेश्वरको पक्ष वा विपक्ष उहाँ र उहाँका आज्ञाहरूप्रतिको समर्पणमा निर्भर हुन्छ, व्यक्तिको छालाको रंग वा अन्य गुणहरूमा होइन ।

कुनै पनि समूह वा व्यक्तिप्रति पूर्वाग्रहको मनोवृत्ति र कार्यहरू त्याग्न चर्चले सबै मानिसहरूलाई आग्रह गर्छ । चर्चका सदस्यहरूले परमेश्‍वरका सबै सन्ततिहरूप्रति आदर बढाउने कार्यमा नेतृत्व गर्नु पर्छ । सदस्यहरूले अरूहरूलाई प्रेम गर्ने मुक्तिदाताको आज्ञा पालना गर्दछन् (हेर्नुहोस् मत्ती २२:३५-३९) । तिनीहरू कुनै पनि प्रकारको पूर्वाग्रहलाई अस्वीकार गर्दै सबैप्रति सद्भाव राख्ने व्यक्ति बन्न प्रयास गर्छन् । यसमा जाति, जातियता, राष्ट्रियता, जनजाति, लिङ्ग, उमेर, अपाङ्गता, सामाजिक आर्थिक स्थिति, धार्मिक विश्वास वा अविश्वास र यौन झुकावमा आधारित पूर्वाग्रह समावेश छ ।

३८.६.१५

समलिङ्गी आकर्षण र समलिङ्गी व्यवहार

चर्चले परिवार र सदस्यहरूलाई समान लिङ्गका अरूहरूप्रति आकर्षित भएका व्यक्तिहरूप्रति संवेदनशीलता, प्रेम र सम्मानका साथ व्यवहार गर्न प्रोत्साहन गर्छ । चर्चले पनि समाजमा व्यापक रूपमा समझदारीलाई बढावा दिन्छ जसले दया, समावेशीता, अरूप्रतिको प्रेम र सबै मानिसहरूको सम्मानका सम्बन्धमा यसको शिक्षाहरू प्रतिबिम्बित गर्छ । समलिङ्गी आकर्षणका कारणहरूमा चर्चले कुनै दृष्टिकोण राख्दैन ।

परमेश्वरका आज्ञाहरूले या त विषमलिङ्गी वा समलिङ्गी सबै अशुद्ध व्यवहारलाई निषेध गर्छन् । चर्चका अगुवाहरूले पवित्रताको नियम उल्लङ्घन गर्ने सदस्यहरूलाई सल्लाह दिन्छन् । येशू ख्रीष्ट र उहाँको प्रायश्चितमा आस्था, पश्चात्तापको प्रक्रिया र पृथ्वीमा जीवनको उद्देश्यको स्पष्ट समझ प्राप्त गर्न अगुवाहरूले तिनीहरूलाई सहयोग गर्न् ।

यदि सदस्यहरूले समलिङ्गी आकर्षण महसुस गर्दछन् र पवित्रताको नियम अनुसार जिउन प्रयास गरिरहेका छन् भने, अगुवाहरूले तिनीहरूको संकल्पमा समर्थन र प्रोत्साहन दिन्छन् । यदि तिनीहरू योग्य छन् भने यी सदस्यहरूले चर्च बोलावटहरू, मन्दिर सिफारिसहरू र मन्दिरका विधिहरू प्राप्त गर्न सक्छन् । चर्चका पुरुष सदस्यहरूले पादरित्व प्राप्त गर्न र अभ्यास गर्न सक्छन् ।

आफ्ना करारहरू पालना गर्ने सबै सदस्यहरूले अनन्तकालमा सबै प्रतिज्ञा गरिएका आशीर्वादहरू प्राप्त गर्ने छन्, चाहे तिनीहरूको परिस्थितिले उनीहरूलाई यस जीवनमा अनन्त विवाह र अभिभावकत्वको आशीर्वाद प्राप्त गर्न अनुमति दियोस् वा नदियोस् (हेर्नुहोस् मोसीयाह २:४१) ।

३८.६.१६

समलिङ्गी विवाह

धर्मशास्त्रहरूमा आधारित, एक सैद्धान्तिक सिद्धान्तका रूपमा, एक पुरुष र एक महिला बीचको विवाह उहाँका सन्ततिहरूको अनन्त गन्तव्यका लागि सृष्टिकर्ताको योजनाका लागि आवश्यक छ भनेर चर्चले प्रमाणित गर्छ । चर्चले यो पनि प्रमाणित गर्दछ कि परमेश्वरको नियमले एक पुरुष र एक महिला बीचको कानुनी र वैधानिक मिलनका रूपमा विवाहलाई परिभाषित गर्छ ।

३८.६.१७

यौन शिक्षा

तिनीहरूका छोराछोरीको यौन शिक्षाका लागि प्रमुख दायित्व अभिभावकहरूको हो । स्वस्थ, धर्मी काम-वासनाका सम्बन्धमा आफ्ना बालबालिकाहरूसँग अभिभावकहरूले इमानदार, स्पष्ट र निरन्तर वार्तालाप गर्नु पर्छ ।

३८.६.१८

यौन दुर्व्यवहार, बलात्कार र अन्य प्रकारका यौन आक्रमणहरू

चर्चले यौन दुर्व्यवहारको निन्दा गर्छ । यहाँ प्रयोग गरिए अनुसार, यौन दुर्व्यवहारलाई अर्को व्यक्तिमा कुनै पनि अवाञ्छित यौन क्रियाकलाप थुपार्नु भनेर परिभाषित गरिएको छ । कानुनी सहमति नदिने वा दिन नसक्ने व्यक्तिसँगको यौन क्रियाकलापलाई यौन दुर्व्यवहार मानिन्छ । यौन दुर्व्यवहार जीवनसाथी वा डेटिङ सम्बन्धमा पनि हुन सक्छ । बालबालिका वा युवाको यौन दुर्व्यवहारका सम्बन्धमा जानकारीका लागि, ३८.६.२.३ हेर्नुहोस् ।

यौन दुर्व्यवहारले उत्पीडनदेखि बलात्कार र यौन आक्रमणका अन्य प्रकारका कार्यहरूको व्यापक स्वरूपलाई समेट्छ । यो शारीरिक, मौखिक र अन्य स्वरूपमा हुन सक्छ । यौन दुर्व्यवहार, बलात्कार वा अन्य प्रकारका यौन दुर्व्यवहारको अनुभव गरेका सदस्यहरूलाई दिइने सल्लाहका सम्बन्धमा ३८.६.१८.२का निर्देशनहरू हेर्नुहोस् ।

यदि सदस्यहरूले यौन दुर्व्यवहारको आशङ्का गरे वा जानकारी प्राप्त गरे भने, उनीहरूले सम्भव भए सम्म छिटो पीडित र अरूहरूलाई बचाउनका लागि कार्य गर्छन् । यसले नागरिक अधिकारीहरूलाई प्रतिवेदन दिने र विशप वा किला अध्यक्षलाई सतर्क गराउने विषय समावेश छन् । यदि कुनै बालकमाथि दुर्व्यवहार भएको छ भने, सदस्यहरूले ३८.६.२ का निर्देशनहरूको पालना गर्नु पर्छ ।

३८.६.१८.२

यौन दुर्व्यवहार, बलात्कार र अन्य प्रकारका यौन आक्रमणका पीडितहरूका लागि सल्लाह

यौन दुर्व्यवहार, बलात्कार वा अन्य प्रकारका यौन दुर्व्यवहारका पीडितहरू प्रायः गम्भीर आघातबाट ग्रस्त हुन्छन् । जब तिनीहरूले बिशप वा किला अध्यक्षसँग प्रकट गर्छन्, उनले हृदयदेखि दया र समानुभूतिका साथ प्रतिक्रिया जनाउँछन् । उनले पीडितहरूलाई दुर्व्यवहारको विनाशकारी प्रभावहरू हटाउन सहयोग गर्नका लागि आध्यात्मिक परामर्श र समर्थन प्रदान गर्छन् । उपलब्ध भएका स्थानमा निर्देशनका लागि उनले चर्चको दुरूपयोग हेल्प लाइनमा पनि सम्पर्क गर्छन् ।

कहिलेकाहीँ पीडितहरूलाई लज्जा वा दोषको भावना हुन्छ । पीडितहरू पापका दोषी छैनन् । अगुवाहरूले पीडितलाई दोष दिँदैनन् । तिनीहरूले पीडित र तिनीहरूका परिवारहरूलाई परमेश्वरको प्रेम र येशू ख्रीष्ट र उहाँको प्रायश्चितद्वारा प्राप्त हुने चङ्गाइ बुझ्न सहयोग गर् छन् (हेर्नुहोस् अल्मा १५:८; ३ नफी १७:९) ।

जब सदस्यहरूले दुर्व्यवहार वा आक्रमणका सम्बन्धमा जानकारी गराउने छनोट गर्न सक्छन्, अगुवाहरूले विवरणहरूमा अत्यधिक ध्यान केन्द्रित गर्नु हुँदैन । यो पीडितहरूलाई हानिकारक हुन सक्छ ।

चर्चका अगुवाहरूबाट प्रेरित सहयोग प्राप्त गर्नुका साथै पीडितहरू र तिनीहरूका परिवारहरूलाई व्यावसायिक परामर्शको आवश्यकता पर्न सक्छ। जानकारीका लागि, हेर्नुहोस् ३१.३.६

३८.६.१८.३

सदस्यता परिषदहरू

कसैलाई यौन आघात वा दुर्व्यवहार गरेको व्यक्तिका लागि सदस्यता परिषद् आवश्यक हुन सक्छ । यदि कुनै सदस्यले बलात्कार गरेको भए वा अन्य प्रकारको यौन दुर्व्यवहारमा दोषी ठहरिएमा सदस्यता परिषद् आवश्यक हुन्छ ।

३८.६.२०

आत्महत्या

नश्वर जीवन परमेश्वरबाट एक बहुमूल्य उपहार हो—एक उपहार जुन मूल्यवान र सुरक्षित हुनु पर्छ । चर्चले आत्महत्याको रोकथामलाई दृढतापूर्वक समर्थन गर्छ ।

आत्महत्याका सम्बन्धमा विचार गरिरहेका अधिकांश मानिसहरू शारीरिक, मानसिक, भावनात्मक वा आध्यात्मिक पीडाबाट राहत प्राप्त गर्न चाहन्छन् । त्यस्ता व्यक्तिहरूलाई परिवार, चर्चका अगुवाहरू र योग्य पेशेवरहरूबाट माया, सहयोग र समर्थन आवश्यक हुन्छ ।

यदि कुनै सदस्यले आत्महत्या गर्ने विचार गरिरहेका छन् वा प्रयास गरेका छन् भने बिशपले उपदेशक सहयोग प्रदान गर्छन् । उनले तत्कालै सदस्यलाई व्यावसायिक सहयोग प्राप्त गर्न सहयोग गर्छन् ।

प्रियजनहरू, अगुवाहरू र पेशेवरहरूको उत्कृष्ट प्रयासका बावजुद, आत्महत्या सदैव रोक्न सकिँदैन । यसले गहिरो हृदयघात, भावनात्मक उथलपुथल र प्रियजनहरू र अरूहरूका लागि अनुत्तरित प्रश्नहरू छोड्छ । अगुवाहरूले परिवारलाई सल्लाह र सान्त्वना दिनु पर्दछ । तिनीहरूले पोषण र समर्थन प्रदान गर्छन् ।

मानिसले आफ्नो ज्यान लिनु सही होइन । यद्यपि, केवल परमेश्वरले मात्रै व्यक्तिको विचार, कार्य र उत्तरदायित्वको स्तरको न्याय गर्न सक्षम हुनुहुन्छ (हेर्नुहोस् १ शमुएल १६:७; सिद्धान्त र करार १३७:९) ।

आत्महत्याका करण आफ्नो प्रियजन गुमाएकाहरूले येशू ख्रीष्ट र उहाँको प्रायश्चितमा आशा र चङ्गाइ प्राप्त गर्न सक्छन् ।

३८.६.२३

लिङ्ग परिवर्तन गर्ने व्यक्तिहरू

लिङ्ग परिवर्तन गर्ने व्यक्तिहरूले जटिल चुनौतीहरूको सामना गर्छन् । लिङ्ग परिवर्तनका रूपमा पहिचान गरिएका सदस्यहरू र गैरसदस्यहरू—र तिनीहरूका परिवार र मित्रहरूलाई—संवेदनशीलता, दया, करूणा र ख्रीष्टको जस्तो प्रेमको प्रशस्तताका साथ व्यवहार गर्नु पर्छ । सबैलाई चर्चका प्रभुभोज सभा, आइतबारका अन्य सभाहरू र सामाजिक कार्यक्रमहरूमा उपस्थित हुन स्वागत छ (हेर्नुहोस् ३८.१.१) ।

लिङ्ग स्वर्गका पिताको खुशीको योजनाको एक आवश्यक विशेषता हो । पारिवारिक घोषणा मा लिङ्ग को अभिप्रेरित अर्थ जन्मजात जैविक लिङ्ग हो । केही व्यक्तिहरूले आफ्नो जैविक लिङ्ग र तिनीहरूको लिङ्ग पहिचानको बीचमा असङ्गति भावनाको अनुभूति गर्छन् । फलस्वरूप, तिनीहरू लिङ्ग परिवर्तन गर्नेका रूपमा पहिचान गर्न सक्छन् । लिङ्ग परिवर्तन गर्ने मानिसहरूका रूपमा पहिचान गर्ने कारणहरूमा चर्चले कुनै दृष्टिकोण राख्दैन ।

चर्चका अधिकांश सहभागिता र केही पादरित्व विधिहरू लैङ्गिक रूपमा तटस्थ हुन्छन् । ३८.२.८.१० मा उल्लेख गारिए अनुरूप लिङ्ग परिवर्तन गर्ने व्यक्तिहरूलाई बप्तिस्मा र प्रमाणित गर्न सकिन्छ । तिनीहरूले पनि प्रभुभोजमा सहभागी हुन सक्छन् र पादरित्वका आशीर्वादहरू प्राप्त गर्न सक्छन् । जे भए तापनि, पादरित्वका विधि र मन्दिरका विधि जन्मजात जैविक लिङ्गअनुसार प्राप्त हुन्छन् ।

चर्चका अगुवाहरूले जन्ममा व्यक्तिको जैविक लिङ्गको विपरीत लिङ्गमा परिवर्तन गर्ने प्रयासका लागि वैकल्पिक चिकित्सा वा सर्जिकल हस्तक्षेपको प्रतिकूल सल्लाह दिन्छन् (“लिङ्ग विपरीत”) । यी कार्यहरू गर्नु चर्चको सदस्यता प्रतिबन्धका कारण हुनेछन् भनेर अगुवाहरूले सल्लाह दिन्छन् ।

अगुवाहरूले सामाजिक रूपान्तरण प्रतिकूल सल्लाह पनि दिन्छन् । सामाजिक रूपान्तरणले जन्मको समयमा आफ्नो जैविक लिङ्ग बाहेक अन्य रूपमा प्रस्तुत गर्नका लागि पोशाक वा स्वरूप परिवर्तन, वा नाम वा सर्वनाम परिवर्तनलाई समावेश गर्छ । अगुवाहरूले सल्लाह दिन्छन् कि सामाजिक रूपान्तरण गर्नेहरूले यस संक्रमण कालमा चर्च सदस्यताका केही प्रतिबन्धहरू अनुभव गर्ने छन् ।

प्रतिबन्धहरूमा पादरित्व प्राप्त गर्ने वा अभ्यास गर्ने, मन्दिरको अनुमति पत्र प्राप्त गर्ने वा प्रयोग गर्ने र चर्चका केही बोलावटहरू प्राप्त गर्ने विषयहरू समावेश छन् । यद्यपि चर्च सदस्यताका केही विशेषाधिकारहरू प्रतिबन्धित भए तापनि चर्चका अन्य सहभागितामा स्वागत् गरिन्छ ।

यदि कुनै सदस्यले आफ्नो प्रमुख नाम वा ठेगाना परिवर्तन गर्ने निर्णय गरेमा, प्रमुख नाम सदस्यता अभिलेखमा प्रमुख नाम खण्डमा सूचित गर्न सकिन्छ । व्यक्तिलाई वार्डमा प्रमुख नामले सम्बोधन गर्न सकिन्छ ।

परिस्थितिहरू एकाइबाट एकाइसम्म र व्यक्तिबाट-व्यक्तिसम्म धेरै फरक हुन्छन् । सदस्यहरू र अगुवाहरूले सँगै र परमप्रभुसँग सल्लाह गर्छन् । क्षेत्रीय अध्यक्षताहरूले स्थानीय अगुवाहरूलाई व्यक्तिगत परिस्थितिहरूलाई संवेदनशील रूपमा सम्बोधन गर्न सहयोग गर्ने छन् । बिशपहरूले किला अध्यक्षसँग सल्लाह गर्छन् । किला अध्यक्षहरू र सुसमाचार प्रचार अध्यक्षहरूले क्षेत्रीय अध्यक्षताबाट सल्लाह लिनु पर्छ (हेर्नुहोस् ३२.६.३) ।

३८.७

चिकित्सा र स्वास्थ्य नीतिहरू

३८.७.२

दफन र दाहसंस्कार

ऊ वा उनको शव दफन वा दाहसंस्कार गरिनु पर्छ भन्ने निर्णय मृतक व्यक्तिको परिवारले गर्छ । तिनीहरूले व्यक्तिको चाहनाको सम्मान गर्दछन् ।

कतिपय देशहरूमा कानुनअनुसार नै दाहसंस्कार गरिनु आवश्यक हुन्छ । अन्य अवस्थाहरूमा, दफन परिवारका लागि व्यावहारिक वा पहूँचयोग्य हुँदैन । सबै अवस्थाहरूमा, शरीरलाई आदर र सम्मानका साथ व्यवहार गरिनु पर्छ । पुनरुत्थानको शक्ति सदैव लागु हुन्छ भनेर सदस्यहरूलाई आश्वस्त गराइनु पर्छ (हेर्नुहोस् अल्मा ११:४२-४५) ।

सम्भव भएसम्म, अभिदान प्राप्त भएका मृतक सदस्यको शरीरलाई दफन गर्दा वा दाहसंस्कार गर्दा औपचारिक मन्दिरका वस्त्र लगाइनु पर्छ (हेर्नुहोस् ३८.५.८) ।

३८.७.३

जन्मनुपूर्व नै मृत्यु हुने बालबालिका (मृत जन्मिएका र गर्भपात भएका बालबालिका)

अभिभावकहरूले स्मृति वा समाधि स्थलका सेवाहरू राख्ने कि नराख्ने निर्णय गर्न सक्छन् ।

जन्मनुपूर्व नै मृत्यु हुने बालबालिकाहरूका लागि मन्दिरका विधिहरू आवश्यक पर्दैन वा निर्वाह गरिनु पर्दैन । यसले यी बालबालिकाहरू अनन्तकालमा परिवारको अंश हुन सक्ने सम्भावनालाई अस्वीकार गर्दैन । अभिभावकहरूलाई परमप्रभुमा भरोसा गर्न र उहाँको सान्त्वना अन्वेषण गर्न प्रोत्साहन गरिन्छ ।

३८.७.४

इच्छामृत्यु

नश्वर जीवन परमेश्वरको एक बहुमूल्य उपहार हो । इच्छामृत्यु भनेको निको नहुने रोग वा अन्य अवस्थाबाट पीडित व्यक्तिको जीवनलाई अभिप्रायपूर्व समाप्त गर्नु हो । एक व्यक्ति जसले इच्छामृत्युमा सहभागी हुन्छ, कसैलाई आत्महत्याद्वारा मर्न सहयोग गर्छ, परमेश्वरका आज्ञाहरू उल्लङ्घन गर्छ र स्थानीय कानुनहरूको उल्लङ्घन गर्न सक्छ ।

जीवनको अन्त्यमा व्यक्तिका जीवन समर्थनका उपायहरूलाई निरन्तरता नदिनु वा त्याग्नुलाई इच्छामृत्यु मानिने छैन (हेर्नुहोस् ३८.७.११) ।

३८.७.५

एचआईभी सङ्क्रमण र एड्स

एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) बाट सङ्क्रमण भएका वा एड्स (अक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम) भएका सदस्यहरूलाई चर्चका सभा र गतिविधिहरूमा स्वागत् गरिनु पर्छ । तिनीहरूको उपस्थिति अरूहरूका लागि स्वास्थ्य जोखिम होइन ।

३८.७.८

चिकित्सा र स्वास्थ्य सेवा

सक्षम चिकित्सा सहायता अन्वेषण गर्नु, आस्थाको अभ्यास गर्नु र पादरित्वको आशीर्वाद प्राप्त गर्नुले परमप्रभुको चाहना अनुसार, चङ्गाइका लागि सँगै कार्य गर्छन् ।

सदस्यहरूले नैतिक, आध्यात्मिक वा कानुनी रूपमा शंकास्पद चिकित्सा वा स्वास्थ्य अभ्यासहरूको प्रयोग वा प्रचार गर्नु हुँदैन । स्वास्थ्य समस्या भएकाहरूले तिनीहरूले अभ्यास गर्ने क्षेत्रहरूमा इजाजतपत्र प्राप्त योग्य चिकित्सा पेशेवरहरूसँग परामर्श गर्नु पर्छ ।

३८.७.९

चिकित्सा सम्बन्धी गाँजा

चर्चले गैर-चिकित्सा उद्देश्यका लागि गाँजाको प्रयोगको प्रतिरोध गर्छ । हेर्नुहोस् ३८.७.१४

३८.७.११

जीवन विस्तार गर्ने (जीवन समर्थन सहित)

सदस्यहरूले चरम माध्यमबाट नश्वर जीवन विस्तार गर्ने बाध्यता महसुस गर्नु हुँदैन । यी निर्णयहरू सम्भव भएसम्म व्यक्तिद्वारा वा परिवारका सदस्यहरूद्वारा गरिनु उत्तम हुन्छ । तिनीहरूले प्रार्थना र दैवी मार्गदर्शनद्वारा सक्षम चिकित्सा सल्लाह अन्वेषण गर्नु पर्छ ।

३८.७.१३

खोपहरू

सक्षम चिकित्सा पेशेवरहरूद्वारा प्रशासित खोपहरूले स्वास्थ्य र जीवन बचाउँछन् । चर्चका सदस्यहरूलाई खोपका माध्यमबाट आफू, आफ्ना बालबालिका र आफ्नो समुदायको सुरक्षा गर्न प्रोत्साहन गरिन्छ ।

अन्ततः, व्यक्तिहरू खोपको सम्बन्धमा आफ्नै निर्णयहरू गर्न उत्तरदायी हुन्छन् । यदि सदस्यहरूलाई चासो छ भने, उनीहरूले सक्षम चिकित्सा पेशेवरहरूसँग सल्लाह गर्नु पर्छ र पवित्र आत्माको निर्देशन पनि अन्वेषण गर्नु पर्छ ।

३८.७.१४

ज्ञानको वचन र स्वस्थ अभ्यासहरू

ज्ञानको वचन परमेश्वरको आज्ञा हो । अगमवक्ताहरूले स्पष्ट पारेका छन् कि सिद्धान्त र करार ८९ का शिक्षाहरूले सुर्ती, कडा पेय (रक्सी) र तातो पेय (चिया र कफी) त्याग्ने विषयलाई समावेश गर्छ ।

त्यहाँ अन्य हानिकारक पदार्थ र अभ्यासहरू छन् जुन ज्ञानको वचन वा चर्चका अगुवाहरूद्वारा निर्दिष्ट गरिएको छैन । सदस्यहरूले आफ्नो शारीरिक, आध्यात्मिक र संवेगात्मक स्वास्थ्य प्रवर्द्धनको छनोटका लागि ज्ञान र प्रार्थनापूर्ण निर्णय प्रयोग गर्नु पर्छ ।

३८.८

प्रशासनिक नीतिहरू

३८.८.१

ग्रहण र पालनपोषण हेरचाह

बालबालिकाहरूलाई ग्रहण गर्नाले र पालनपोषण प्रदान गर्नाले बालबालिका र परिवारलाई आशीर्वाद दिन सक्छ । ग्रहणका माध्यमबाट मायालु, अनन्त परिवारहरू सिर्जना गर्न सकिन्छ । बालबालिकाहरू ग्रहण वा जन्म जेद्वारा परिवारमा आए तापनि तिनीहरू समान रूपमा बहुमूल्य आशीर्वाद हुन् ।

बालबालिकालाई ग्रहण वा पालनपोषण प्रदान गर्न खोज्ने सदस्यहरूले संलग्न देशहरू र सरकारहरूको सबै उपयुक्त कानुनहरूको पालना गर्नु पर्छ ।

३८.८.४

साधारण अधिकारीहरू, साधारण अधिकृतहरू र क्षेत्रीय सत्तरीको अटोग्राफ र फोटोग्राफहरू

चर्चका सदस्यहरूले साधारण अधिकारीहरू, साधारण अधिकृतहरू वा क्षेत्रीय सत्तरीहरूको अटोग्राफ लिन खोज्नु हुँदैन । त्यसो गर्नाले तिनीहरूको पवित्र बोलावट र सभाहरूको आत्मालाई भङ्ग गर्छ । यसले तिनीहरूलाई अन्य सदस्यहरूलाई अभिवादन गर्नबाट पनि रोक्न सक्छ ।

सदस्यहरूले सभागृहहरूमा साधारण अधिकारीहरू, साधारण अधिकारीहरू वा क्षेत्रीय सत्तरीहरूको फोटो खिच्नु हुँदैन ।

३८.८.७

चर्चका पत्रिकाहरू

चर्चका पत्रिकाहरूमा यी समावेश छन्:

प्रथम अध्यक्षताले सबै सदस्यहरूलाई चर्चका पत्रिकाहरू पढ्न प्रोत्साहन गर्छन् । पत्रिकाहरूले सदस्यहरूलाई येशू ख्रीष्टको सुसमाचार सिक्न, जीवित अगमवक्ताहरूका शिक्षाहरू अध्ययन गर्न, विश्वव्यापी चर्च परिवारसँग जोडिएको महसुस गर्न, आस्थाका साथ चुनौतीहरूको सामना गर्न र परमेश्वरसँग नजिक हुन सहयोग गर्न सक्छन् ।

३८.८.८

चर्चको नाम, शब्दचिन्ह र प्रतीक

छवि
चर्चका शब्दचिह्न र प्रतीक

चर्चको नाम, शब्दचिन्ह र प्रतीक चर्चका प्रमुख पहिचानहरू हुन् ।

शब्दचिह्न र प्रतीक । चर्चका शब्दचिह्न र प्रतीक (माथिको चित्रण हेर्नुहोस्) केवल प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणद्वारा अनुमोदित रूपमा प्रयोग गरिनु पर्छ । तिनीहरू सजावटी तत्वहरूका रूपमा प्रयोग गर्न सकिँदैन । न त तिनीहरू कुनै पनि व्यक्तिगत, व्यावसायिक वा प्रचारात्मक तरिकामा प्रयोग गर्न नै सकिन्छ ।

३८.८.१०

कम्प्युटरहरू

चर्चका सभागृहहरूमा प्रयोग हुने कम्प्युटर र सफ्टवेयरहरू चर्चको प्रमुख कार्यालय वा क्षेत्रीय कार्यालयहरूद्वारा उपलब्ध र व्यवस्थापन गरिन्छन् । अगुवाहरू र सदस्यहरूले यी स्रोतहरू पारिवारिक इतिहासका कार्य सहित चर्चका उद्देश्यहरूलाई समर्थन गर्न प्रयोग गर्छन् ।

यी कम्प्युटरहरूमा भएका सबै सफ्टवेयरहरू चर्चलाई सही रूपमा इजाजत-पत्र हुनु पर्छ ।

३८.८.१२

पाठ्यक्रम सामग्रीहरू

चर्चले सदस्यहरूलाई येशू ख्रीष्टको सुसमाचार सिक्न र जिउन सहयोग गर्ने सामग्रीहरू प्रदान गर्छ । यसमा धर्मशास्त्रहरू, साधारण सम्मेलनका सन्देशहरू, पत्रिकाहरू, पुस्तिकाहरू, पुस्तकहरू र अन्य स्रोतहरू समावेश छन् । अगुवाहरूले सदस्यहरूलाई घरमा सुसमाचार अध्ययन गर्न आवश्यक भए अनुसार धर्मशास्त्रहरू र अन्य स्रोतहरू प्रयोग गर्न प्रोत्साहन गर्छन् ।

३८.८.१४

पोशाक र उपस्थिति

चर्चका सदस्यहरूलाई शरीरलाई आदर देखाउन उपयुक्त पोशाक र प्रस्तुतिका सम्बन्धमा आफ्नो छनोटका लागि प्रोत्साहन गरिन्छ । संस्कृति र विभिन्न अवसरहरू अनुसार के उपयुक्त छ भन्ने विषय भिन्न हुन्छ ।

३८.८.१६

उपवासको दिन

सदस्यहरूले कुनै पनि समयमा उपवास गर्न सक्छन् । यद्यपि, तिनीहरूले सामान्यतया महिनाको पहिलो विश्रामको दिनलाई उपवासको दिनका रूपमा मनाउँछन् ।

उपवासको दिनमा सामान्यतया प्रार्थना गर्ने, २४ घण्टाको अवधि (शारीरिक रूपमा सक्षम भएमा) खाना र पेय पदार्थ बिना रहने र उदार उपवास भेटी दिने समावेश हुन्छन् । उपवास भेटी भनेको आवश्यकतामा परेकाहरूलाई सहयोग गर्नका लागि दिने दान हो (हेर्नुहोस् २२.२.२) ।

कहिलेकाहीँ चर्चव्यापी वा स्थानीय सभाहरू महिनाको पहिलो विश्रामको दिनमा आयोजना गरिन्छन् । जब यो हुन्छ, किला अध्यक्षताले उपवासको दिनका लागि वैकल्पिक विश्रामको दिन निर्धारण गर्छन् ।

३८.८.१७

जुवा र चिठ्ठाहरू

कुनै पनि स्वरूपमा चर्चले जुवाका विरूद्धमा विरोध गर्दछ र सल्लाह दिन्छ । यसले खेलकुद सर्त र सरकारी प्रायोजित चिठ्ठाहरू समावेश गर्छ ।

३८.८.१९

आप्रवास

आफ्नो जन्मभूमिमा बस्ने सदस्यहरूले त्यहाँ चर्चको निर्माण गर्ने र मजबुत बनाउने अवसरहरू प्राप्त गर्छन् । यद्यपि, अर्को देशमा अध्यागमन भनेको व्यक्तिगत छनोट हो ।

अर्को देशमा सर्ने सदस्यहरूले लागु हुने सबै कानुनहरूको पालना गर्नु पर्छ (हेर्नुहोस् सिद्धान्त र करार ५८:२१) ।

सुसमाचार प्रचारकहरूले अरूहरूको आप्रवास प्रायोजित गर्न प्रस्ताव गर्नु हुँदैन ।

३८.८.२२

भूमिको कानुन

सदस्यहरूले आफू बस्ने वा यात्रा गर्ने जुनसुकै देशको कानुनको पालना, सम्मान र समर्थन गर्नु पर्दछ (हेर्नुहोस् सिद्धान्त र करार ५८:२१-२२; आस्थाका बुँदाहरू १:१२) । यसले सुसमाचार प्रचार गर्न निषेध गर्ने कानुनहरू समावेश गर्छ ।

३८.८.२५

चर्चका प्रमुख कार्यालयहरूसँग सदस्यहरूको सञ्चार

चर्चका सदस्यहरूलाई सैद्धान्तिक प्रश्नहरू, व्यक्तिगत चुनौतीहरू वा अनुरोधहरूका सम्बन्धमा साधारण अधिकारीहरूलाई फोन गर्न, इमेल गर्न वा पत्रहरू लेख्न निरुत्साहन गरिन्छ । सदस्यहरूलाई आध्यात्मिक मार्गदर्शन अन्वेषण गर्दा तिनीहरूका स्थानीय अगुवाहरू, तिनीहरूका राहत समाज वा एल्डरहरूका गणका अध्यक्षहरू लगायतका स्थानीय अगुवाहरूलाई सम्पर्क गर्न प्रोत्साहन गरिन्छ (हेर्नुहोस् ३१.३) ।

३८.८.२७

अपाङ्गता भएका सदस्यहरू

अगुवा र सदस्यहरूलाई उनीहरूका एकाइ भित्र बस्ने सबैको आवश्यकतालाई सम्बोधन गर्न प्रोत्साहन गरिन्छ । अपाङ्गता भएका सदस्यहरू मूल्यवान छन् र अर्थपूर्ण तरिकामा योगदान गर्न सक्छन् । अपाङ्गताहरू बौद्धिक, सामाजिक, सम्वेगात्मक वा शारीरिक हुन सक्छन् ।

३८.८.२९

अन्य आस्थाहरू

अन्य धेरै आस्थाहरूमा धेरै प्रेरणादायी, महान् र उच्च सम्मानको योग्यता पाइन्छ । सुसमाचार प्रचारकहरू र अन्य सदस्यहरू अरूहरूका विश्वास र परम्पराहरूप्रति संवेदनशील र सम्मानजनक हुनु पर्छ ।

३८.८.३०

राजनीतिक र नागरिक क्रियाकलाप

चर्चका सदस्यहरूलाई राजनीतिक र सरकारी विषयहरूमा सहभागी हुन प्रोत्साहन गरिन्छ । धेरै देशहरूमा, यसले समावेश गर्न सक्छ:

  • मतदान ।

  • राजनीतिक दलहरूमा सहभागी हुने वा सेवा गर्ने ।

  • आर्थिक सहयोग उपलब्ध गराउने ।

  • पार्टीका पदाधिकारी र उम्मेदवारहरूसँग वार्तालाप गर्ने ।

  • स्थानीय र राष्ट्रिय सरकारमा निर्वाचित वा नियुक्त कार्यालयहरूमा सेवा गर्ने ।

उनीहरूको समुदायलाई बस्न र परिवार हुर्काउनका लागि स्वस्थ स्थानहरू निर्माण गर्नका लागि योग्य कारणहरूमा सहभागी हुनका लागि पनि सदस्यहरूलाई प्रोत्साहन गरिन्छ ।

चर्चका स्थानीय अगुवाहरूले राजनीतिक विषयमा सहभागी हुन सदस्यहरूलाई सङ्गठित गर्नु हुँदैन । न त अगुवाहरूले सदस्यहरूको सहभागितालाई प्रभाव पार्ने प्रयास नै गर्न हुन्छ ।

अगुवा र सदस्यहरूले कुनै पनि राजनीतिक दल, प्लेटफर्म, नीति वा उम्मेद्वारको चर्चको समर्थनका रूपमा व्याख्या गर्न सक्ने कथन वा आचरणबाट टाढा रहनु पर्छ ।

३८.८.३१

सदस्यहरूको गोपनीयता

चर्चका अगुवाहरू सदस्यहरूको गोपनीयताको संरक्षण गर्न उत्तरदायी छन् । चर्चका अभिलेखहरू, निर्देशिकाहरू र समान सामग्रीहरू व्यक्तिगत, व्यावसायिक वा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न सकिँदैन ।

३८.८.३५

शरणार्थीहरू

आवश्यकतामा परेकाहरूलाई हेरचाह गर्ने आफ्नो उत्तरदायित्वको अंशका रूपमा (हेर्नुहोस् मोसीयाह ४:२६), चर्चका सदस्यहरूले शरणार्थीहरूलाई उनीहरूको समुदायका सदस्यहरूका रूपमा स्वागत गर्न आफ्नो समय, प्रतिभा र मित्रता प्रदान गर्छन् ।

३८.८.३६

चर्चको आर्थिक सहयोगका लागि अनुरोधहरू

आवश्यकतामा परेका सदस्यहरूलाई चर्च प्रमुख कार्यालयमा सम्पर्क गर्नु वा अन्य चर्चका अगुवाहरू वा सदस्यहरूबाट पैसा माग्नुको सट्टा उनीहरूका बिशपसँग कुरा गर्न प्रोत्साहित गरिन्छ ।