साधारण सम्मेलन
मन्दिरमा ध्यान केन्द्रित गर्नुहोस्
अक्टोवर २०२२ को साधारण सम्मेलन


मन्दिरमा ध्यान दिनुहोस्

म प्रतिज्ञा गर्छु कि मन्दिरमा बिताउनुभएको समयले तपाईंको जीवनलाई अन्य कुनै पनि चीजले आशीषित गर्न नसक्ने गरी आशीषित गर्नेछ ।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, साधारण सम्मेलनका यी पाँचवटा भव्य सत्रहरूमा, हामीले पुन: स्वर्ग खुला भएको अनुभव गरेका छौँ! म प्रार्थना गर्दछु कि तपाईंहरूले आफ्ना प्रभावहरूलाई अभिलेखित गर्नुभएको छ र तिनीहरूलाई अनुशरण गर्नुहुनेछ । स्वर्गका हाम्रा पिता र उहाँका प्रिय पुत्र, येशू ख्रीष्ट, तपाईंहरूलाई सहयोग गर्न तयार हुनुहुन्छ । म तपाईंहरूलाई तिनीहरूको सहयोग खोज्ने प्रयासहरूलाई बढाउन आग्रह गर्दछु ।

भर्खरै, दिदी नेल्सन र मैले मोर्मोनको पुस्तकको भिडियो शृङ्खलाको नयाँ भाग ४ पूर्वावलोकन गर्ने अवसर पाएका थियौं । हामी तिनीहरूबाट प्रेरित भयौं ! नफीका जनहरूलाई चित्रण गर्ने मुक्तिदाताको उपस्थितिको दृश्यबाट म तपाईंहरूलाई एउटा संक्षिप्त अंश देखाउन चाहन्छु ।

यो महत्त्वपूर्ण छ कि मुक्तिदाताले मानिसहरूका सामु मन्दिरमा प्रकट हुन रोज्नुभयो । यो उहाँको घर हो । यो उहाँको शक्तिले भरिएको छ । परमप्रभुले हाम्रा लागि के गरिरहनु भएको छ भनेर कहिल्यै नबिर्सौं । उहाँले आफ्ना मन्दिरहरूलाई धेरै प्रयोग गर्न सक्ने बनाउँदै हुनुहुन्छ । उहाँले हामीले मन्दिर निर्माण गर्ने हाम्रो गतिलाई तीव्रता दिँदै हुनुहुन्छ । उहाँले इस्राएललाई एकत्रित गर्न सहयोग गर्ने हाम्रो क्षमता बढाउँदै हुनुहुन्छ । उहाँले हामी प्रत्येकलाई आध्यात्मिक रूपमा परिष्कृत हुन सजिलो बनाउँदै हुनुहुन्छ । म प्रतिज्ञा गर्छु कि मन्दिरमा बिताउनुभएको समयले तपाईंको जीवनलाई अन्य कुनै पनि चीजले आशीषित गर्न नसक्ने गरी आशीषित गर्नेछ ।

हामीसँग हाल १६८ मन्दिरहरू सञ्चालनमा छन् र ५३ नयाँ मन्दिरहरू निर्माणाधीन छन्, अनि अन्य ५४ पूर्व निर्माण योजनाको चरणमा छन् ! म निम्न स्थानहरू मध्ये प्रत्येकमा नयाँ मन्दिर निर्माण गर्ने हाम्रा योजनाहरू घोषणा गर्न पाउँदा हर्षित छु: बुसान, कोरिया; नागा, फिलिपिन्स; सान्टियागो, फिलिपिन्स; इकेट, नाइजेरिया; चिकलायो, पेरु; ब्यूनस आयर्स सिटी सेन्टर, अर्जेन्टिना; लन्ड्रीना, ब्राजिल; रिबेइराओ प्रेटो, ब्राजिल; ह्युह्युटेनागो, ग्वाटेमाला; ज्याक्सनभिल, फ्लोरिडा; ग्रेड र्यापिड्स, मिशिगन; प्रोस्पर, टेक्सास; लोन माउन्टेन, नेभाडा; र ताकोमा, वासिङ्टन ।

हामीले छनौट गरेका विशाल महानगरीय क्षेत्रहरूमा धेरै मन्दिरहरू निर्माण गर्ने योजना पनि बनाइरहेका छौँ जहाँ हाल अवस्थित मन्दिरसम्म यात्रा गर्ने समय ठूलो चुनौती रहेको छ । तसर्थ, म मेक्सिको सिटी नजिकै चार थप स्थानहरू घोषणा गर्न पाउँदा हर्षित छु जहाँ कुएर्नाभाका, पाचुका, टोलुका र तुलामा नयाँ मन्दिरहरू निर्माण गरिनेछन् ।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूले मन्दिरमा यसरी ध्यान केन्द्रित गर्न सक्नुहुन्छ जुन तपाईंहरूले पहिले कहिल्यै गर्नुभएको थिएन । म तपाईंहरूलाई हरेक दिन परमेश्वर र येशू ख्रीष्टको नजिक हुन आशीष दिन्छु । म तपाईंहरूलाई प्रेम गर्छु । हामी पुन: नभेटुन्जेलसम्म परमेश्वर तपाईंहरूको साथमा रहुन्, म येशू ख्रीष्टको पवित्र नाममा प्रार्थना गर्दछु, आमीन ।

सूचीहरू:

  1. यी नयाँ भिडियोहरू सुसमाचार पुस्तकालय र अन्य च्यानलहरूमा धेरै भाषाहरूमा उपलब्ध हुनेछन् । सम्मेलन पछि साप्ताहिक आधारमा खण्डहरू प्रकाशित हुन आजबाट सुरु हुनेछन् ।

  2. अक्टोबर १, २०२२ सम्म, थप चार मन्दिरहरू (सेन्ट जर्ज यूटा, मान्टी यूटा, सल्ट लेक, र कोलम्बस ओहायो) पूनर्निर्माण भइरहेका छन्, र तीनवटा (ह्यामिल्टन न्युजिल्याण्ड, क्विटो इक्वेडर र बेलेम ब्राजिल) समर्पणको प्रतिक्षामा छन् ।