साधारण सम्मेलन
यो परमप्रभुमा ज्ञान हो कि हामीसँग मोर्मोनको पुस्तक हुनु पर्छ
शब्दहरूको महत्त्व छ


यो परमप्रभुमा ज्ञान हो कि हामीसँग मोर्मोनको पुस्तक हुनु पर्छ

यो मेरो प्रार्थना हो कि यस वर्ष मोर्मोनको पुस्तक पढ्नाले हामी प्रत्येकका लागि प्रसन्नता र आशीर्वाद हुने छ ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, आऊ, मलाई अनुशरण गर सहित तपाईंहरूको धर्मशास्त्रहरू पढ्ने प्रयासका लागि हामी धेरै आभारी छौँ । तपाईंहरूले गरिरहनुभएका सबै विषयका लागि धन्यवाद । परमेश्वर र उहाँका वचनसँग तपाईंहरूको दैनिक सम्बन्धका गहन परिणामहरू हुन्छन् । “तपाईंहरूले महान् कार्यको आधार निर्माण गरिरहनुभएको छ । अनि साना विषयवस्तुहरूबाट महान् विषयवस्तुहरू आउँछन् ।”

धर्मशास्त्रमा मुक्तिदाताका शिक्षाहरू पढ्नाले हामीलाई हाम्रा घरहरूलाई आस्थाको स्थान र सुसमाचार शिक्षाको केन्द्रहरूमा रूपान्तरण गर्न सहयोग गर्छ । यसले आत्मालाई हाम्रो घरमा आमन्त्रण गर्छ । पवित्र आत्माले हाम्रो जीवात्मालाई प्रसन्नताले भरिदिन्छ र हामीलाई येशू ख्रीष्टको आजीवन अनुयायीहरूमा रूपान्तरण गर्छ ।

यी पछिल्ला धेरै वर्षहरूमा, पवित्र धर्मशास्त्रका पुस्तकहरू पढ्दा, हामीले सबै प्रमुख सुसमाचार समायावधिहरूमा उहाँका छोराछोरीहरूलाई परमेश्वरको शिक्षाको व्यापक दृश्य देखेका छौँ ।

प्रत्येक समयावधिमा, हामीले एक परिचित नमूना देखेका छौँ । परमेश्वरले उहाँका अगमवक्ताहरूका माध्यमद्वारा येशू ख्रीष्टको सुसमाचारलाई पुनर्स्थापित् गर्नुहुन्छ वा प्रकट गर्नुहुन्छ । मानिसहरूले अगमवक्ताहरूको अनुशरण गर्छन् र धेरै आशीष प्राप्त गर्छन् । यद्यपि, समयको साथमा, केही मानिसहरूले अगमवक्ताहरूका वचनहरू सुन्न छोड्छन् र तिनीहरूस्वयम् लाई परमप्रभु र उहाँका सुसमाचारबाट टाढा राख्छन् । यसलाई हामी धर्मत्याग भन्छौँ । सुसमाचार पहिलो पटक आदमलाई प्रकट गरिएको थियो तर आदम र हव्वाका केही सन्तानहरू धर्मत्यागमा परमप्रभुबाट टाढा गए । हामी हनोक, नोआ, अब्राहाम, मोशा र अरूहरूका समयावधिहरूमा पुनर्स्थापना र धर्मत्यागको नमूना दोहोरिएको देख्छौँ ।

आज, हामी समयको परिपूर्णताको समयावधिमा जिइरहेका छौँ । यो एक मात्र समयावधि हो जुन धर्मत्यागमा समाप्त हुँदैन । यो त्यो समयावधि हो जसले मुक्तिदाता येशू ख्रीष्टको दोस्रो आगमन र उहाँको सहस्राब्दी शासनको सुरूवात गर्ने छ ।

यो समयावधिमा के फरक छ? परमप्रभुले आज हामीलाई के प्रदान गर्नुभएको छ, विशेष गरी हाम्रो समयका लागि, जसले हामीलाई मुक्तिदाताको नजिक जान र उहाँलाई कहिल्यै नछोड्न सहयोग गर्ने छ?

मेरो मस्तिष्कमा आउने एउटा जवाफ भनेको धर्मशास्त्रहरू हो—विशेष गरी मोर्मोनको पुस्तक: येशू ख्रीष्टको अर्को करार ।

जब परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि त्यहाँ अर्को सामान्य धर्मत्याग कहिल्यै हुने छैन, हामीले व्यक्तिगत धर्मत्यागबाट बच्न सजग र होसियार हुन आवश्यक छ—अध्यक्ष रसल एम्. नेल्सनले सिकाउनु भएको जस्तै, “हामी हरेक हाम्रो व्यक्तिगत आध्यात्मिक वृद्धिका लागि उत्तरदायी छौँ ।” मोर्मोनको पुस्तकको अध्ययनले, जसरी हामी यस वर्ष गरिरहेका छौँ, सदैव हामीलाई मुक्तिदाताको नजिक ल्याउँछ—र हामीलाई उहाँको नजिक रहन सहयोग गर्छ ।

हामी यसलाई “अध्ययन” भन्छौँ र यो ठीक छ किनभने यसले प्रयासलाई सङ्केत गर्छ । परन्तु हामीले सदैव नयाँ तथ्य सिक्नु आवश्यक छैन । कहिलेकाहीँ मोर्मोनको पुस्तक पढ्नु भनेको आज परमेश्वरसँग जोडिएको महसुस गर्नु हो—आत्मालाई पोषण गर्दै, संसारको सामना गर्नुपूर्व आध्यात्मिक रूपमा शक्ति प्राप्त गर्दै वा संसारमा एउटा कठीन दिन पछि चङ्गाइ प्राप्त गर्नु हो ।

हामी धर्मशास्त्रहरू अध्ययन गर्छौँ ताकि पवित्र आत्मा, महान् शिक्षकले स्वर्गका पिता र येशू ख्रीष्टमा हाम्रो परिवर्तनलाई गहिरो बनाउन र हामीलाई उहाँहरू जस्तै बन्न सहयोग गर्न सक्छन् ।

यी विचारहरूलाई मस्तिष्कमा राखेर, हामी विचार गर्न सक्छौँ, “मोर्मोनको पुस्तकको हाम्रो अध्ययनका क्रममा यो हप्ता पवित्र आत्माले हामीलाई के सिकाएको छ?” र “यसले हामीलाई मुक्तिदाताको नजिक कसरी ल्याउँछ?”

यी हाम्रा घरमा धर्मशास्त्रहरूको अध्ययनका लागि सही प्रश्नहरू हुन् । तिनीहरू चर्चमा शबाथ कक्षा सुरू गर्नका लागि पनि उत्कृष्ट प्रश्नहरू हुन् । हामी हप्ताभरि घरमा हाम्रो अध्ययनमा सुधार गरेर आइतबार चर्चमा हाम्रो शिक्षामा सुधार गर्छौँ । यसरी, हाम्रो आइतबारका कक्षाहरूमा, “ऊ जसले प्रवचन गर्छ र ऊ जसले ग्रहण गर्छ, एकअर्कालाई बुझ्छन् र दुबैले एकअर्कालाई आत्मिक वृद्धि गर्छन् र सँगै आनन्दित हुन्छन् ।”

यस हप्ताको मोर्मोनको पुस्तकको अध्ययनबाट आत्माले मेरो मस्तिष्कमा छाप पारेका केही पदहरू यहाँ छन्:

  • नफीले याकूबलाई “एक पिँढीदेखि अर्को पिँढीसम्म … यी पाताहरूको संरक्षण गर्न निर्देशन दिए । अनि यदि त्यहाँ पवित्र प्रवचन, अथवा प्रकाश …अथवा अगमवाणी छन् भने,” याकूबले “तिनीहरू कुँद्नु पर्छ … यी पाताहरूमा … [तिनीहरूका] जनहरूका लागि ।”

  • याकूबले पछि गवाही दिए, “हामी [धर्मशास्त्रहरू]को खोजी गर्छौँ, … यी सबै साक्षीहरू भएकाले हामीले आशा प्राप्त गर्छौँ अनि हाम्रो आस्था अडिग हुन्छ ।”

अब, यी पदहरूले मलाई नफीले काँसका पाताहरूका सम्बन्धमा यसपूर्व के भनेका थिए भनेर स्मरण गराए:

“अभिलेखहरू हामीले प्राप्त गऱ्यौँ … अनि तिनीहरूमा खोजी गऱ्यौँ र तिनीहरू … हाम्रा लागि बहुमूल्य थिए, यतिसम्म कि हाम्रा छोराछोरीहरूका लागि हामी परमप्रभुका आज्ञाहरू संरक्षण गर्न सक्छौँ ।

“यसकारण, परमप्रभुमा यो ज्ञान थियो कि उजाड स्थानमा प्रतिज्ञाको भूमितर्फ यात्रा गर्दा हामी तिनीहरूलाई आफूसँगै लैजानु पर्छ ।

अब, यदि लही र उहाँका परिवारका लागि धर्मशास्त्रहरू हुनु बुद्धिमानी थियो भने, यो हाम्रा लागि पनि हुनु बुद्धिमानी हो । धर्मशास्त्रको महान मूल्य र आध्यात्मिक शक्ति आज हाम्रो जीवनमा निरन्तर जारी छ ।

इतिहासमा मोर्मोनको पुस्तक र अन्य धर्मशास्त्रहरूमा पहुँच प्राप्त गरेर आज मानिसले उठाइरहेको आनन्द कहिल्यै प्राप्त भएको थिएन । हो, लही र उहाँको परिवारले काँसका पाताहरू आफूसँगै लैजान पाउँदा आशीषित भए तर तिनीहरूसँग प्रत्येक पालका लागि त्यसको प्रतिलिपि थिएन! मोर्मोनको पुस्तकको सबैभन्दा महत्त्वपूर्ण प्रतिलिपि हाम्रो व्यक्तिगत प्रतिलिपि हो । यो हामीले पढ्ने प्रतिलिपि हो ।

लहीले देखेको जीवनको वृक्षको दर्शनमा, लहीले हामीलाई परमेश्वरको प्रेम सहित व्यक्तिगत अनुभवको महत्त्व सिकाउनु भयो । उहाँले फल खाएपछि, लहीले आफ्नी पत्नी, सरीयाह र उहाँका छोराहरू नफी र सामलाई अलि टाढा देखे ।

“तिनीहरू कहाँ जानु पर्छ भन्ने उनीहरूलाई जानकारी नभएको जस्तो गरी तिनीहरू उभिएका थिए ।

“… मैले तिनीहरूलाई सङ्केत गरेँ,” लही भन्नुहुन्छ, “र मैले उनीहरूलाई ठूलो आवाजमा मसमक्ष आउन र त्यो फल, जुन अन्य सबै फल भन्दा रहरलाग्दो थियो, खान पनि भनेँ ।

“अनि … तिनीहरू मसमक्ष आए र फल खाए ।”

मलाई लहीको उद्देश्यपूर्ण अभिभावकत्वको उदाहरण मन पर्छ । सरीयाह, नफी र सामले असल, धार्मिक जीवन यापन गरिरहेका थिए । परन्तु परमप्रभुसँग तिनीहरूका लागि अझै असल, मीठो विषयवस्तु थियो । तिनीहरूलाई यो कहाँ पत्ता लगाउने भनेर जानकारी थिएन तर लहीलाई थियो । त्यसैले, उहाँले तिनीहरूलाई “ठूलो आवाजमा” जीवनको वृक्षमा आउन र आफ्ना लागि फल खान बोलाउनुभयो । उहाँको निर्देशन स्पष्ट थियो । त्यहाँ कुनै भ्रम थिएन ।

म यस्तै प्रकारको उद्देश्यपूर्ण अभिभावकत्वको उपज हुँ । जब म एक युवक थिएँ, संभवतः ११ वा १२ वर्षको, मेरी आमाले मलाई सोध्नुभयो, “मार्क, के तिमीलाई थाहा छ, पवित्र आत्माद्वारा, कि सुसमाचार सत्य हो?”

उनको प्रश्नले मलाई अचम्मित बनायो । मैले सदैव “असल बालक” बन्ने प्रयास गरेको थिएँ र मैले महसुस गरेँ कि यो पर्याप्त थियो । परन्तु मेरी आमालाई, लहीलाई जस्तै, थाहा थियो कि अझै केही आवश्यक थियो । मैले आफूस्वयम् ले कार्य गर्नु र जान्नु आवश्यक थियो ।

मैले जवाफ दिएँ कि मैले अहिलेसम्म त्यो अनुभव गरेको छैन । अनि मेरो जवाफबाट उहाँ अचम्ममा पर्नुभएन ।

त्यसपछि उहाँले मैले कदापि नबिर्सने विषय बताउनुभयो: “स्वर्गका पिताले तिमीस्वयम् ले जानकारी प्राप्त गरेको चाहनु हुन्छ । म उहाँका शब्दहरू आजसम्म पनि सम्झन्छु: “स्वर्गका पिताले तिमीस्वयम् ले जानकारी प्राप्त गरेको चाहनु हुन्छ । तर तिमीले आफ्नो प्रयास गर्नु पर्छ । तिमीले मोर्मोनको पुस्तक पढ्नु पर्छ र पवित्र आत्माद्वारा जान्नका लागि प्रार्थना गर्नु पर्छ । स्वर्गका पिताले तिम्रा प्रार्थनाहरूको जवाफ दिनुहुने छ ।”

वास्तवमा, मैले यसपूर्व कहिल्यै मोर्मोनको पुस्तक पढेको थिइनँ । मैले सोचेको थिइन कि म यसो गर्न पर्याप्त उमेरको भएको छु । परन्तु मेरी आमालाई राम्रोसँग थाहा थियो ।

उहाँको प्रश्नले मेरो मनमा आफ्ना लागि जान्ने चाहना जगायो ।

त्यसैले, हरेक रात, मैले मेरा दुई दाजुभाइहरूसँग बाँढेको सुत्ने कोठामा, मैले मेरो ओछ्यान माथिको बत्ती बाल्थेँ र मोर्मोनको पुस्तकको एउटा अध्याय पढ्थेँ । त्यसपछि, बत्ती निभाएर, मैले मेरो ओछ्यानबाट बाहिर निस्किएर घुँडा टेकेर प्रार्थना गरेँ । मैले यसपूर्व भन्दा धेरै इमानदारीपूर्वक र ठूलो चाहनाका साथ प्रार्थना गरेँ । मैले स्वर्गका पितालाई मोर्मोनको पुस्तकको सत्यताका सम्बन्धमा मलाई जानकारी दिनुहोस् भनेर याचना गरेँ ।

जबदेखि मैले मोर्मोनको पुस्तक पढ्न सुरू गरेँ, तबदेखि स्वर्गका पिता मेरो प्रयासका सम्बन्धमा सचेत हुनुहुन्छ भन्ने मैले महसुस गरेँ । अनि मलाई महसुस भयो कि म उहाँका लागि महत्त्वपूर्ण छु । जब मैले पढेँ र प्रार्थना गरेँ, सहज, शान्त भावनाहरू ममा आए । अध्याय पछि अध्याय, आस्थाको ज्योति मेरो आत्मा भित्र अझै उज्यालो हुँदै गयो । समयसँगै, मैले महसुस गरेँ कि ती भावनाहरू पवित्र आत्माबाट सत्यको प्रमाणीकरण थिए । मोर्मोनको पुस्तक सत्य हो र येशू ख्रीष्ट संसारका मुक्तिदाता हुनुहुन्छ भनी मैले आफूस्वयम् का लागि जानकारी प्राप्त गरेँ । मेरी आमाको प्रेरणादायी आमन्त्रणका लागि म कति कृतज्ञ छु ।

युवकका रूपमा मोर्मोनको पुस्तक पढ्ने यो अनुभवले धर्मशास्त्र अध्ययनको नमूना सुरू भयो जसले मलाई आजसम्म आशीष दिइरहेको छ । म अझै पनि मोर्मोनको पुस्तक पढ्छु र प्रार्थनामा घुँडा टेक्छु । अनि पवित्र आत्माले यसको सत्यताका आधारमा पुष्टि गर्छन् ।

नफीले यसलाई सही रूपमा भने । यो परमप्रभुमा ज्ञान थियो कि हामीले हाम्रा जीवनभर धर्मशास्त्रहरू धारण गर्नु पर्छ । मोर्मोनको पुस्तक “प्रमुख आधार” हो जसले यस समयावधिलाई यसका पूर्वका सबै समयावधिहरू भन्दा भिन्न बनाउँछ जब हामी मोर्मोनको पुस्तक अध्ययन गर्छौँ र जीवित अगमवक्तालाई अनुशरण गर्छौँ, हाम्रो जीवनमा कुनै व्यक्तिगत धर्मत्याग हुने छैन ।

परमेश्वरको वचनलाई दह्रिलोसँग समाएर जीवनको वृक्षमा आउनका लागि आमन्त्रण केवल लहीबाट उनको परिवारलाई दिइएको आमन्त्रण मात्रै होइन र यो मोर्मोनको पुस्तक पढ्न र प्रार्थना गर्न मेरा लागि मेरी आमाको आमन्त्रण मात्रै पनि होइन । यो हाम्रा अगमवक्ता, अध्यक्ष रसल एम्. नेल्सनबाट हामी हरेकलाई आमन्त्रण पनि हो ।

“म प्रतिज्ञा गर्छु,” उहाँले भन्नुभयो, “तपाईंहरूले प्रार्थनापूर्वक मोर्मोनको पुस्तक हरेक दिन अध्ययन गर्नुभएमा, तपाईंले हरेक दिन असल निर्णयहरू गर्नुहुने छ—हरेक दिन। म प्रतिज्ञा गर्छु कि यदि तपाईंहरूले पढ्नुभएका वचनहरूलाई मनन गर्नुभयो भने, स्वर्गका द्वारहरू खोलिने छन् र तपाईंहरूले आफ्ना प्रश्नहरूका जवाफहरू र आफ्ना जीवनका लागि निर्देशनहरू प्राप्त गर्नुहुने छ ।”

यो मेरो प्रार्थना हो कि यस वर्ष मोर्मोनको पुस्तक पढ्नु हामी प्रत्येकका लागि प्रसन्नता र आशीर्वाद हुने छ र हामीलाई मुक्तिदाताको नजिक ल्याउने छ ।

स्वर्गका पिता जीवित हुनुहुन्छ । येशू ख्रीष्ट हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ । मोर्मोनको पुस्तकले उहाँका वचनहरू समावेश गर्छ र उहाँको प्रेम व्यक्त गर्छ । अध्यक्ष रसल एम्. नेल्सन यस पृथ्वीमा आज परमप्रभुको जीवित अगमवक्ता हुनुहुन्छ । पवित्र आत्माले पुष्टि गरेको गवाहीका कारण मलाई यी विषयहरू सत्य हुन् भन्ने जानकारी छ, जुन गवाही मैले पहिलो पटक युवकका रूपमा मोर्मोनको पुस्तक पढ्दा प्राप्त गरेको थिएँ । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. सिद्धान्त र करार ६४:३३

  2. “नयाँ गृह-केन्द्रित, चर्च-समर्थित एकीकृत पाठ्यक्रमले परिवारहरूको शक्तिलाई बाहिर निकाल्ने क्षमता राख्छ, किनकि प्रत्येक परिवारले आफ्नो घरलाई आस्थाको स्थानमा रूपान्तरण गर्न ईमानदारीपूर्वक र सावधानीपूर्वक अनुसरण गर्छ । म प्रतिज्ञा गर्छु कि तपाईंहरूले आफ्नो घरलाई सुसमाचार शिक्षाको केन्द्रमा पुनर्निर्माण गर्न लगनशीलता सहित कार्य गर्दा, समयसँगै तपाईंहरूका शबाथका दिनहरू वास्तवमा नै रोचक हुने छन् । तपाईंहरूका छोराछोरीहरू मुक्तिदाताका शिक्षाहरू सिक्न र पालना गर्न उत्साहित हुने छन् र तपाईंहरूको जीवन र तपाईंहरूको घरमा शत्रुको प्रभाव कम हुने छ । तपाईंहरूका परिवारहरूमा हुने परिवर्तनहरू आश्चर्यपूर्ण र दिगा हुने छन्”(रसल एम्. नेल्सन, “Becoming Exemplary Latter-day Saints,” Liahona,नोभेम्बर २०१८, ११३)।

  3. “साच्चैँ नै, साच्चैँ नै, म तिमीलाई भन्छु, म तिमीलाई मेरो आत्माका सम्बन्धमा जानकारी दिन्छु, जसले तिम्रो मस्तिष्कमा ज्ञान दिन्छ, जसले तिम्रो जीवात्मालाई प्रसन्नताले भर्ने छ” (सिद्धान्त र करार ११:१३)।

  4. “समयावधिहरू समयका ती अवधिहरू हुन् जसमा परमप्रभुले पृथ्वीमा कम्तिमा एक जना आधिकारिक सेवक पठाउनु हुन्छ जसले पवित्र पादरित्व र साँचाहरू बहन गर्छन् र जससँग पृथ्वीका बासिन्दाहरूलाई सुसमाचार वितरण गर्ने दैवी आदेश हुन्छ”(Topics and Questions, “Dispensations,” Gospel Library)।

  5. हेर्नुहोस् मोशा ५:१२-१६

  6. अगमवक्ता दानिएलले नबूकदनेसरको सपनाको व्याख्या गर्दा हाम्रो दिन, हाम्रो समयावधि देखे । पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च त्यो सपनाको चट्टान हो, पहाडबाट हातबिना काटिएको, सारा पृथ्वी भर्नका लागि अघि बढिरहेको छ (हेर्नुहोस् दानिएल २:३४-३५, ४४–४५; सिद्धान्त र करार ६५:२)।

  7. “परमेश्वर पिता र येशू ख्रीष्टले अगमवक्ता जोसेफ स्मिथलाई यस समयावधिको अगमवक्ता हुन बोलावट गर्नुभयो । यसपूर्वका समयावधिहरूका सबै दैवी शक्तिहरू उनका माध्यमद्वारा पुनर्स्थापित् गर्नु पर्ने थियो । समयको पूर्णताको यो समयावधि समय वा स्थानमा सीमित हुने छैन । यो धर्मत्यागमा समाप्त हुने छैन र यसले संसार भर्ने छ” (रसल एम्. नेल्सन, “The Gathering of Scattered Israel,” Liahona, नोभेम्बर २००६, ७९-८०)।

  8. रसल एम्. नेल्सन, “Opening Remarks,” Liahona, नोभेम्बर २०१८, ८ ।

  9. हेर्नुहोस् “Conversion Is Our Goal,” Come Follow Me—For Home and Church: Book of Mormon 2024, ५ ।

  10. सिद्धान्त र करार ५०:२२; पदहरू १७-२१ पनि हेर्नुहोस् ।

  11. याकूब १:३–४

  12. याकूब ४:६

  13. १ नफी ५:२१-२२

  14. यो हालै घोषणा गरिएको थियो कि यस समयावधिमा मोर्मोनको पुस्तकका २० करोड प्रतिहरू वितरण गरिएको छ । त्यो व्यस्तवमा नै उल्लेखनीय छ । मोर्मोनको पुस्तक अब ११३ भाषाहरूमा अनुवाद गरिएको छ, १७ नयाँ अनुवादहरू प्रक्रियामा छन् । प्रिन्ट, डिजिटल, अडियो, भिडियो र अन्य ढाँचाहरूमा मोर्मोनको पुस्तक प्राप्त गर्नु यो महान् आशीर्वाद हो । (हेर्नुहोस् रायन जेन्सन, “Church Distributes 200 Millionth Copy of the Book of Mormon,” Church News, डिसेम्बर, २९, २०२३, thechurchnews.com ।)

  15. १ नफी ८:१४-१६; जोड दिएर थपिएको ।

  16. “बालकको जीवनमा सबैभन्दा शक्तिशाली आध्यात्मिक प्रभाव मायालु आमाबाबु र हजुरबुबा हजुरआमाको धर्मी उदाहरण हो जसले आस्थापूर्वक आफ्नै पवित्र करारहरू पालना गर्छन् । बुद्धिमानी आमाबाबुले आफ्ना छोराछोरीहरूलाई परमप्रभु येशू ख्रीष्टमा आस्था गर्न सिकाउँछन् ताकि तिनीहरूले पनि ‘आफ्ना पापहरूबाट छुट्कारा प्राप्त गर्नका लागि कुन स्रोत खोज्न सक्छन्‌ भनेर पहिचान गर्न सक्छन् ।’ [२ नफी २५:२६]। अनौपचारिक र अनुचित करार पालनाले आध्यात्मिक क्षति निम्त्याउँछ । आध्यात्मिक क्षति प्रायः हाम्रा छोराछोरी र नातिनातिनीहरूमा सबैभन्दा ठूलो हुन्छ” (केभिन डब्ल्यू. पियर्सन, “Are You Still Willing?,” Liahona, नोभेम्बर २०२२, ६९)।

  17. हेर्नुहोस् सिद्धान्त र करार ६:२२-२४

  18. अगमवक्ता जोसेफ स्मिथले भन्नुभयो: “मैले बन्धुहरूलाई भनेँ कि मोर्मोनको पुस्तक पृथ्वीको कुनैपनि अन्य पुस्तक भन्दा सही र हाम्रो धर्मको मूल आधार थियो र अरू कुनै पुस्तकका शिक्षाहरूको पालना भन्दा यसका शिक्षाहरूको पालनाद्वारा मानिस परमेश्वरको अझै नजिक पुग्छ” (मोर्मोनको पुस्तकको परिचयमा )।

  19. रसल एम्. नेल्सन,The Book of Mormon: What Would Your Life Be Like without It?,” लियाहोना, नोभेम्बर २०१७, ६२-६३ ।